रुपन्देही खबर , ५८ पटक हेरिएको
भैरहवा, जेठ १९
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नारासहित सामाजिक विकास डिभिजन कार्यालय रुपन्देहीको आयोजनामा सञ्चालित माननीय कप क्रिकेट प्रतियोगिता २०८२/८३ सम्पन्न भएको छ । जिल्लामा क्रिकेट खेलको विकास, युवालाई खेलप्रति आकर्षित गर्ने तथा स्वस्थ जीवनशैलीको सन्देश प्रवाह गर्ने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगिताको एक कार्यक्रमबीच समापन गरिएको हो ।
रुपन्देही जिल्लाका विभिन्न क्लब तथा संस्थाका १७ वटा टोलीको सहभागिता रहेको प्रतियोगितामा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ को टोली प्रथम भएको छ भने सिद्धार्थनगर वडा नम्बर १ को टोली द्वितीय भएको आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुने टोलीलाई ५१ हजार रुपैयाँ नगद, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको थियो भने द्वितीय हुने टोलीलाई २५ हजार रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डे ले खेलकुद राष्ट्र निर्माणको महत्वपूर्ण आधार भएको बताउनुभयो । उहाँले खेलकुदले युवालाई अनुशासन, मेहनत, सहकार्य र सकारात्मक सोच सिकाउने उल्लेख गर्दै सरकारले खेल क्षेत्रको विकासका लागि आवश्यक पूर्वाधार निर्माण, खेलाडी उत्पादन तथा प्रतियोगिता सञ्चालनलाई प्राथमिकतामा राखेको बताउनुभयो ।

मन्त्री पाण्डेले क्रिकेट खेलप्रति युवाको आकर्षण बढ्दै गएको उल्लेख गर्दै रुपन्देही क्रिकेटको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित हुँदै गएको धारणा राख्नुभयो । उहाँले स्थानीय तह, प्रदेश र संघीय सरकारबीच सहकार्य गर्दै खेलाडी उत्पादन र खेल पर्यटनको विकासमा जोड दिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
कार्यक्रममा सामाजिक विकास डिभिजन कार्यालय रुपन्देहीका कार्यालय प्रमुख हरि बहादुर बिष्टले प्रतियोगिताको उद्देश्यबारे प्रकाश पार्दै रुपन्देहीमा क्रिकेट खेलको विस्तार र खेलाडीको क्षमता अभिवृद्धिका लागि यस्ता प्रतियोगिता आवश्यक रहेको बताउनुभयो । उहाँले खेलाडीको हौसला बढाउन र खेल संस्कृतिको विकास गर्न कार्यालयले निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा क्रिकेट सङ्घका पूर्व सचिव प्रशान्त विक्रम मल्लले रुपन्देही जिल्ला पछिल्लो समय क्रिकेट खेलको उर्वर भूमि बन्दै गएको बताउनुभयो । उहाँले स्थानीय स्तरमा आयोजना हुने यस्ता प्रतियोगिताले नयाँ खेलाडी उत्पादन गर्न, खेलाडीको आत्मविश्वास बढाउन तथा खेलप्रति युवाको आकर्षण अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो ।
मल्लले क्रिकेट केवल मनोरञ्जनको माध्यम मात्र नभई अनुशासन, सहकार्य, नेतृत्व क्षमता र सकारात्मक सोच विकास गर्ने महत्वपूर्ण क्षेत्र भएको उल्लेख गर्नुभयो । उहाँले ग्रामीण तथा शहरी क्षेत्रका प्रतिभावान खेलाडीलाई अवसर प्रदान गर्न स्थानीय तह, खेल संस्था तथा सरकारबीच सहकार्य आवश्यक रहेको बताउनुभयो ।

उहाँले रुपन्देहीमा क्रिकेटप्रतिको बढ्दो आकर्षणले भविष्यमा राष्ट्रिय स्तरका उत्कृष्ट खेलाडी उत्पादन हुने सम्भावना रहेको उल्लेख गर्दै खेलाडीलाई नियमित प्रशिक्षण, स्तरीय मैदान तथा आवश्यक पूर्वाधार उपलब्ध गराउनुपर्ने आवश्यकता औंल्याउनुभयो । यस्ता प्रतियोगिताले खेल संस्कृतिको विकासका साथै युवालाई कुलतबाट टाढा राख्न सकारात्मक योगदान पुग्ने उहाँको भनाइ थियो ।
सामाजिक विकास डिभिजन कार्यालय रुपन्देहीका योजना शाखा प्रमुख भागिरथ अधिकारीले रुपन्देही क्रिकेटको हबका रूपमा स्थापित हुँदै गएको बताउनुभयो । उहाँले जिल्लामा क्रिकेटप्रति युवाको उत्साह उल्लेखनीय रहेको भन्दै सामाजिक विकास डिभिजन कार्यालयले खेलाडीको प्रोत्साहन, प्रतियोगिता सञ्चालन तथा खेलकुद विकासका कार्यक्रमलाई निरन्तरता दिँदै आएको जानकारी दिनुभयो ।

उहाँले खेलकुदले स्वास्थ्य प्रवर्द्धनका साथै सामाजिक सद्भाव र नेतृत्व विकासमा समेत सकारात्मक प्रभाव पार्ने उल्लेख गर्नुभयो । प्रतियोगिताले जिल्लामा खेलकुदप्रति थप उत्साह सिर्जना गर्ने विश्वास व्यक्त गर्दै सहभागी सम्पूर्ण टोलीलाई सफलताको शुभकामना दिनुभयो । समापन कार्यक्रममा विभिन्न खेलकर्मी, जनप्रतिनिधि, कर्मचारी, समाजसेवी, प्रशिक्षक, खेलाडी तथा खेलप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
प्रकाशित मिति: २०२६-०६-०२ , समय : ११:१०:४४ , २ घन्टा अगाडि