रुपन्देही खबर , ४९ पटक हेरिएको
काठमाण्डौ, जेठ २९
विदेशी विद्यार्थीको अध्ययन भिसा सिफारिस प्रक्रियामा शङ्कास्पद कागजात र नक्कली रसिद प्रयोग भएको आशङ्का देखिएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले विस्तृत छानबिन गरी कानुनी कारबाही अघि बढाउन गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।
अध्ययन भिसाका लागि जारी गरिएको सिफारिससँग सम्बन्धित कागजातमा गम्भीर शङ्का उत्पन्न भएपछि मन्त्रालयले अनुसन्धानका लागि गृह मन्त्रालयलाई अनुरोध गरेको हो । मन्त्रालयका अनुसार काठमाण्डौस्थित वाल्मीकि विद्यापीठ को नामबाट ‘एकेडेमिक अध्ययन भिसाका लागि सिफारिस सम्बन्धमा’ विषयको पत्र प्राप्त भएपछि सोही आधारमा अध्ययन भिसा सिफारिस गरिएको थियो ।
तर पछि शिक्षा मन्त्रालयको टोलीले सम्बन्धित शैक्षिक संस्थामा स्थलगत अनुगमन गर्दा सिफारिस गरिएको विद्यार्थीका नाममा जारी पत्र र आम्दानी रसिद वास्तविक देखिए पनि पत्रमा उल्लेखित भर्ना तथा अध्ययनसम्बन्धी विवरणमा गम्भीर असङ्गति भेटिएको जनाएको छ ।
अनुगमनका क्रममा ती व्यक्ति सम्बन्धित शैक्षिक संस्थामा विदेशी विद्यार्थीका रूपमा अध्ययनरत रहेको पुष्टि हुन नसकेको मन्त्रालयको निष्कर्ष छ । साथै मन्त्रालयमा पेस गरिएका केही कागजात तथा रसिदसमेत शङ्कास्पद र नक्कली प्रकृतिका देखिएको जनाइएको छ ।
मन्त्रालयले सोही क्रममा विद्यापीठको नामबाट यसअघि प्राप्त अर्को पत्रसमेत नक्कली रहेको पाइएको जनाएको छ । प्रारम्भिक अनुसन्धानबाट कागजातको विश्वसनीयतामाथि प्रश्न उठेपछि अध्ययन भिसाका लागि जारी गरिएका सिफारिस पत्रसमेत खारेज गरिएको मन्त्रालयले जनाएको छ ।
शिक्षा मन्त्रालयले गृह मन्त्रालयलाई पठाएको पत्रमा घटनासँग सम्बन्धित सबै पक्षमाथि विस्तृत छानबिन गरी प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाउन आग्रह गरिएको छ । साथै अध्ययन भिसा सिफारिस प्रणालीको दुरुपयोग रोक्न सम्बन्धित निकायबीच थप समन्वय आवश्यक रहेको मन्त्रालयले औँल्याएको छ ।
नेपालमा विदेशी विद्यार्थीलाई अध्ययन भिसा सिफारिस गर्दा सम्बन्धित शैक्षिक संस्थाबाट जारी भएका भर्ना, अध्ययन र शुल्कसम्बन्धी आधिकारिक कागजातका आधारमा प्रक्रिया अघि बढाउने व्यवस्था छ । गलत, भ्रामक वा नक्कली कागजात प्रयोग गरी भिसा प्रक्रिया अघि बढाए कानुनी कारबाही हुने सरकारी निकायहरूले चेतावनी दिँदै आएका छन् ।
प्रकाशित मिति: २०२६-०६-१२ , समय : ०९:२७:११ , ३ घन्टा अगाडि