रुपन्देही खबर , ७० पटक हेरिएको
भैरहवा, जेठ २९
सिद्धार्थनगर नगरपालिका वडा नम्बर–५ ले आर्थिक वर्ष २०८३÷०८४ को वार्षिक बजेट, नीति तथा कार्यक्रम तर्जुमा प्रक्रियालाई थप सहभागितामूलक, पारदर्शी र जनउत्तरदायी बनाउन वडा भेला सम्पन्न गरेको छ । स्थानीय नागरिक, समाजसेवी, बुद्धिजीवी, व्यवसायी, महिला, युवा तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागितामा आयोजित भेलामा वडाको समग्र विकासका लागि आवश्यक योजना तथा कार्यक्रमबारे व्यापक छलफल गरिएको थियो।

सिद्धार्थनगर नगरपालिका वडा नम्बर–५ का वडाध्यक्ष पुरन प्रसाद श्रेष्ठको अध्यक्षता तथा नगर प्रमुख इश्तियाक अहमद खानको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा आगामी आर्थिक वर्षका लागि वडाको विकास प्राथमिकता, बजेट विनियोजनका क्षेत्र, नागरिकका आवश्यकता तथा स्थानीय समस्याहरूका विषयमा खुला रूपमा राय, सुझाव र सल्लाह संकलन गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख इश्तियाक अहमद खानले स्थानीय तहको विकासलाई प्रभावकारी बनाउन नागरिकको प्रत्यक्ष सहभागिता अपरिहार्य रहेको बताउनुभयो। विकासका योजना कागजमा मात्र सीमित नभई जनताको वास्तविक आवश्यकता र अपेक्षाका आधारमा निर्माण हुनुपर्ने उल्लेख गर्दै उहाँले वडाबाट प्राप्त हुने सुझावहरूलाई नगरपालिकाको नीति तथा कार्यक्रममा समेटिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

उहाँले नगरपालिकाले शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार, सरसफाइ, वातावरण संरक्षण, खानेपानी, सामाजिक सुरक्षा तथा युवामैत्री कार्यक्रमलाई प्राथमिकतामा राख्दै काम गरिरहेको बताउनुभयो। नगर प्रमुख खानले विकास निर्माणमा नागरिकको साथ, सहयोग र निगरानी आवश्यक रहेको उल्लेख गर्दै जनप्रतिनिधि र नागरिकबीचको सहकार्यबाट मात्र समृद्ध नगर निर्माण सम्भव हुने धारणा राख्नुभयो।

वडा भेलामा बोल्दै वडाध्यक्ष पुरन प्रसाद श्रेष्ठले वडा नम्बर–५ को विकासका लागि नागरिकबाट प्राप्त सुझावहरूलाई उच्च प्राथमिकताका साथ समेटिने बताउनुभयो । उहाँले वडामा सडक, नाली, सरसफाइ, सडक बत्ती, शिक्षा, स्वास्थ्य तथा सामाजिक विकासका क्षेत्रमा थुप्रै कामहरू सम्पन्न भएको उल्लेख गर्दै अझै बाँकी रहेका आवश्यकताहरूलाई आगामी बजेट तथा कार्यक्रममा समावेश गर्नका लागी ८१ लाख ४४ हजार बजेट सिलिंग पाएको जानकारी दिनुभयो।
वडाध्यक्ष श्रेष्ठले विकास निर्माणका योजनाहरू जनताको माग र आवश्यकताका आधारमा छनोट गरिने स्पष्ट पार्दै वडा कार्यालय सधैं नागरिकप्रति उत्तरदायी र जवाफदेही रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले वडालाई व्यवस्थित, सफा, सुरक्षित र विकासोन्मुख बनाउने अभियानमा सबैको सहयोग आवश्यक रहेको पनि बताउनुभयो।

कार्यक्रममा आफ्नो धारणा राख्दै समाजसेवी नारायण प्रसाद अग्रवालले वडाको विकासका लागि दीर्घकालीन सोच र योजनाबद्ध कार्य आवश्यक रहेको बताउनुभयो। उहाँले बजेट विनियोजन गर्दा केवल भौतिक पूर्वाधारमा मात्र केन्द्रित नभई शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रको विकासलाई समेत समान महत्व दिनुपर्ने सुझाव दिनुभयो । विकासका योजनाहरू कार्यान्वयन गर्दा पारदर्शिता र प्रभावकारितामा विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ थियो ।

त्यस्तै गरी समाजसेवी दर्पण श्रेष्ठले युवाहरूलाई लक्षित कार्यक्रम, खेलकुद पूर्वाधार, सीप विकास तालिम तथा स्वरोजगारमूलक योजनाहरूलाई प्राथमिकतामा राख्न आग्रह गर्नुभयो। उहाँले युवा पुस्तालाई सकारात्मक गतिविधिमा जोड्न सके समाजको समग्र विकासमा टेवा पुग्ने धारणा व्यक्त गर्नुभयो।
वडा भेलामा बोल्दै समाजसेवी आनन्द प्रसाद गुप्ताले वडा नम्बर–५ को सामाजिक तथा आर्थिक विकासका लागि दीर्घकालीन सोचसहित दिगो योजना निर्माण आवश्यक रहेको बताउनुभयो। उहाँले नगर तथा वडा स्तरबाट सञ्चालन भइरहेका विकास तथा जनमुखी कार्यक्रमहरू सबै समुदाय र वर्गसम्म पुग्न सफल भएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै अझ प्रभावकारी ढंगले कार्यान्वयन गर्नुपर्ने सुझाव दिनुभयो।
उहाँले वडा नम्बर–५ ले स्थानीय नागरिकलाई आर्थिक गतिविधिसँग जोड्ने, आयआर्जन तथा आत्मनिर्भरता अभिवृद्धि गर्ने विभिन्न कार्यक्रम सञ्चालन गरेर उदाहरणीय कार्य गर्दै आएको बताउनुभयो। विकास निर्माणसँगै नागरिकको आर्थिक सशक्तीकरणमा केन्द्रित योजनाले वडावासीको जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान पु¥याएको उहाँको भनाइ थियो।
समाजसेवी गुप्ताले विशेषगरी ज्येष्ठ नागरिकप्रति वडाले देखाएको सम्मान र संवेदनशीलताको खुलेर प्रशंसा गर्दै वडा नम्बर–५ ले अन्य वडाले समेत गर्न नसकेको ज्येष्ठ नागरिक तीर्थयात्रा कार्यक्रम सञ्चालन गरेर उदाहरणीय काम गरेको उल्लेख गर्नुभयो। ज्येष्ठ नागरिकलाई धार्मिक तथा सांस्कृतिक स्थलहरूको भ्रमण गराउने कार्यले उनीहरूमा सम्मानको भावना अभिवृद्धि हुनुका साथै सामाजिक सद्भाव र आत्मीयता बढाउन समेत टेवा पुगेको उहाँले बताउनुभयो। आगामी दिनमा पनि यस्ता जनहितकारी तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा उहाँले जोड दिनुभयो।
यस्तै गरी स्थानीय तथा समाजसेवी पुनम जैसवालले शिक्षा क्षेत्र सुधारका विषयमा गम्भीर ध्यानाकर्षण गराउँदै भैरहवा नमूना माध्यमिक विद्यालयमा देखिएका विभिन्न समस्याका कारण विद्यार्थीहरूको शैक्षिक भविष्य प्रभावित भइरहेको बताउनुभयो। उहाँले विद्यालयमा केही शिक्षकहरूको लापरवाहीका कारण पठनपाठनको वातावरण प्रभावित भएको गुनासो गर्दै शैक्षिक गुणस्तर सुधारका लागि वडा तथा नगरपालिकाले प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

उहाँले शिक्षालाई विकासको आधार स्तम्भका रूपमा स्थापित गर्न विद्यालय व्यवस्थापन, शिक्षक, अभिभावक तथा स्थानीय सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो। साथै विद्यालयमा अनुशासन, नियमित पठनपाठन तथा गुणस्तरीय शिक्षण सिकाइ सुनिश्चित गर्न सम्बन्धित निकायले विशेष पहल गर्नुपर्ने माग गर्नुभयो।
यस्तै समाजसेवी ऋषि अग्रवालले वडाको विकासमा नागरिक सहभागिता बढाउनुपर्ने आवश्यकता औंल्याउँदै सरसफाइ, वातावरण संरक्षण, सार्वजनिक सम्पत्तिको संरक्षण तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई प्राथमिकतामा राख्न सुझाव दिनुभयो। उहाँले विकासका कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन भएमा नागरिकको जीवनस्तरमा सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गर्नुभयो।
वडा भेलामा सहभागी स्थानीयवासीहरूले सडक स्तरोन्नति, ढल तथा नाली व्यवस्थापन, सडक बत्ती विस्तार, खानेपानी व्यवस्थापन, सार्वजनिक स्थल संरक्षण, वातावरणीय सरसफाइ, शिक्षा तथा स्वास्थ्य सेवा सुधार, ज्येष्ठ नागरिक तथा महिला लक्षित कार्यक्रम, युवाका लागि सीप विकास तालिम तथा स्वरोजगारमूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव दिएका थिए।

सहभागीहरूले विकास निर्माणका योजनाहरू कार्यान्वयन गर्दा गुणस्तर, पारदर्शिता र समयबद्धतालाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए। उनीहरूले वडाको समग्र विकासका लागि सबै सरोकारवाला पक्षबीच सहकार्य आवश्यक रहेको पनि बताएका थिए। वडा सदस्य बिनित बेरिवालको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन वडा सदस्य सरस्वती श्रेष्ठले गर्नुभएको थियो। वडा भेलाबाट प्राप्त भएका राय, सुझाव तथा सिफारिसहरूलाई संकलन गरी आगामी आर्थिक वर्ष २०८३÷०८४ को बजेट, नीति तथा कार्यक्रममा समावेश गरिने जनाइएको छ ।
प्रकाशित मिति: २०२६-०६-१२ , समय : २१:३९:२७ , ३ घन्टा अगाडि