रुपन्देही खबर , ८९ पटक हेरिएको
भैरहवा, असार ५
रुपन्देहीको भैरहवामा चिया प्रेमी तथा खानाका पारखीहरूलाई लक्षित गर्दै नयाँ स्वाद र फरक अवधारणासहित ‘चिया कम्फोर्ट डाइन’ (सिसिडी) सञ्चालनमा आएको छ । सिद्धार्थनगर नगरपालिका–७ आवारोडस्थित व्यस्त क्षेत्रमा करिब ७० लाख रुपैयाँको लगानीमा सञ्चालनमा ल्याइएको उक्त प्रतिष्ठानले भैरहवाको खानपान संस्कृतिमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।
सिद्धार्थनगर नगरपालिका–६ निवासी चार्टर्ड एकाउन्टेन्ट आनन्द यादवको पहलमा सञ्चालनमा आएको सिसिडीमा चियाको मौलिक स्वादसँगै रेष्टुरेण्टको सुविधा उपलब्ध गराइएको छ । अध्ययन तथा पेशागत क्षेत्रमा सक्रिय रहँदै आएका यादवले फरक किसिमको व्यवसायमार्फत स्थानीय बजारमा नयाँ पहिचान बनाउने उद्देश्यले सिसिडी सुरु गर्नुभएको बताउनुभयो ।
“भैरहवामा केही नयाँ र फरक सेवा दिने सोचका साथ यो अवधारणा ल्याएका हौं,” सञ्चालक यादवले भन्नुभयो, “चिया हाम्रो दैनिक जीवनसँग जोडिएको पेय पदार्थ हो । त्यसलाई अझ विशेष स्वाद, राम्रो वातावरण र गुणस्तरीय सेवासँग जोडेर ग्राहकलाई नयाँ अनुभव दिने हाम्रो प्रयास हो ।”
भैरहवाको केन्द्र भागमा रहेको सिसिडीमा ग्राहकले विभिन्न प्रकारका चियाका स्वाद लिन सक्नेछन् । यहाँको मुख्य आकर्षणका रूपमा स्पेशल मट्का चिया, मट्का हण्डी लगायतका विशेष परिकारहरू रहेका छन् । परम्परागत स्वादलाई आधुनिक प्रस्तुतिसँग जोड्दै ग्राहकलाई फरक अनुभव प्रदान गर्ने लक्ष्य प्रतिष्ठानले राखेको छ । युवा पुस्ता, परिवार तथा साथीभाइसँग समय बिताउन चाहने ग्राहकलाई लक्षित गर्दै तयार पारिएको सिसिडीमा खानाका विभिन्न परिकारसहित आरामदायी वातावरणको व्यवस्था गरिएको सञ्चालक यादवले जानकारी दिनुभयो ।
स्थानीय क्षेत्रमा रोजगारी सिर्जना गर्ने उद्देश्यसमेत राखेर सञ्चालनमा ल्याइएको सिसिडीबाट हाल २० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । आगामी दिनमा सेवाको विस्तारसँगै थप रोजगारी सिर्जना गर्ने लक्ष्य रहेको यादवले जानकारी दिनुभयो
शुक्रबार आयोजित विशेष कार्यक्रममा ‘चिया कम्फोर्ट डाइन’ को उद्घाटन सञ्चालक आनन्द यादवका पिता तथा समाजसेवी सियाराम यादवले गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा स्थानीय व्यवसायी, समाजसेवी, शुभेच्छुक तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
उद्घाटन कार्यक्रममा बोल्दै समाजसेवी यादवले युवाहरूले नयाँ सोचका साथ व्यवसायमा लगानी गर्नु सकारात्मक पक्ष भएको बताउनुभयो । उहाँले स्थानीय क्षेत्रमा यस्ता व्यवसायले आर्थिक गतिविधि बढाउनुका साथै रोजगारीको अवसरसमेत सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभयो । चियाको स्वाद, आधुनिक वातावरण र गुणस्तरीय सेवाको संयोजनसहित सञ्चालनमा आएको ‘चिया कम्फोर्ट डाइन’ भैरहवाको नयाँ आकर्षण बन्ने अपेक्षा गरिएको छ ।
प्रकाशित मिति: २०२६-०६-१९ , समय : १८:२८:२८ , ३ घन्टा अगाडि