रुपन्देही खबर , ५८ पटक हेरिएको
बुटवल, असार १४
महिला पत्रकारको पेशागत अवस्था, चुनौती र अवसरका विषयमा केन्द्रित दुई दिने कार्यशाला गोष्ठी शनिबारदेखि बुटवलमा सुरु भएको छ । महिला समानताका लागि सञ्चार अभियानको आयोजना तथा बुटवल उपमहानगरपालिकाको सहकार्यमा “उपप्रमुखसँग महिला पत्रकार, पत्रकार महिलाको अवस्था, चुनौती र अवसर” विषयक कार्यशाला गोष्ठी आयोजना गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि बुटवल उपमहानगर पालिकाका उपप्रमुख सावित्रा देवी अर्यालले सञ्चार क्षेत्र समाज परिवर्तनको महत्वपूर्ण माध्यम भएकाले महिला पत्रकारको भूमिका अझ प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । उहाँले महिलाहरूलाई सञ्चार क्षेत्रमा अघि बढ्न आवश्यक वातावरण, अवसर र सुरक्षा प्रदान गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो ।
उहाँले पत्रकार महिलाले आफ्नो पेशागत जिम्मेवारी निर्वाह गर्ने क्रममा भोग्नुपर्ने विभिन्न समस्या समाधान गर्न स्थानीय सरकार सकारात्मक रहेको बताउँदै महिला सहभागिता बढाउन नीति र व्यवहार दुवै तहमा सुधार आवश्यक रहेको धारणा राख्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष नितु पण्डितले सञ्चार क्षेत्रलाई स्वतन्त्र, जिम्मेवार र मर्यादित बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले पत्रकारिता क्षेत्रले लोकतन्त्रको रक्षा र जनताको आवाज उठाउने काम गर्दै आएको उल्लेख गर्दै सञ्चारमाध्यममाथि कुनै पनि प्रकारको नियन्त्रण वा अंकुश लगाउने प्रयास उचित नहुने बताउनुभयो ।
“पत्रकार महिलाको संख्या बढे पनि नेतृत्व तहमा सहभागिता अझै पर्याप्त छैन,” उहाँले भन्नुभयो, “महिलाले पत्रकारितामा निरन्तरता दिनका लागि सुरक्षित कार्य वातावरण र समान अवसर आवश्यक छ ।”
बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक ज्ञवालीले महिला पत्रकारको क्षमता विकास र पेशागत सशक्तीकरणका लागि स्थानीय तहबाट आवश्यक सहयोग र सहकार्य गर्न सकिने बताउनुभयो । उहाँले सूचना प्रवाहमा महिला पत्रकारको सहभागिताले समाजमा सकारात्मक प्रभाव पार्ने धारणा राख्नुभयो ।
महिला समानताका लागि सञ्चार अभियानका उपाध्यक्ष कविता अर्यालले अभियानको उद्देश्य महिला पत्रकारलाई थप सक्षम बनाउने, उनीहरूले भोगिरहेका चुनौती पहिचान गर्ने र समाधानका उपाय खोज्ने रहेको बताउनुभयो । उहाँले सञ्चार क्षेत्रमा महिलाको उपस्थितिलाई अझ मजबुत बनाउन निरन्तर संवाद र सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोख्रेलले पत्रकारितामा महिलाको योगदान महत्वपूर्ण रहेको बताउँदै उनीहरूको अनुभव र समस्या संस्थागत रूपमा सम्बोधन हुनुपर्ने धारणा राख्नुभयो ।
त्यस्तै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष रामप्रसाद आचार्य र रुपन्देही जिल्ला अध्यक्ष दिनेश पाण्डेले पत्रकारिता क्षेत्रमा महिला सहभागिता बढ्दै गएको भए पनि अवसर, सुरक्षा र नेतृत्व विकासका क्षेत्रमा अझै काम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
कार्यक्रमको स्वागत मन्तव्य रेडियो मुक्तिका स्टेशन म्यानेजर कल्पना तिवारीले राख्नुभएको थियो । उहाँले महिला पत्रकारले समाजका विविध विषय उठाउँदै आए पनि उनीहरूको पेशागत समस्या र संघर्षबारे पर्याप्त छलफल हुनुपर्ने बताउनुभयो ।
कार्यशालामा रुपन्देहीका एक सय जना भन्दा बढी महिला पत्रकारहरूको सहभागिता रहेको छ । तीन दिनसम्म सञ्चालन हुने कार्यक्रममा महिला पत्रकारको पेशागत अनुभव, सञ्चार क्षेत्रमा देखिएका चुनौती, लैंगिक समानता, नेतृत्व विकास, अवसर सिर्जना लगायतका विषयमा छलफल गरिने आयोजकले जनाएको छ ।
प्रकाशित मिति: २०२६-०६-२८ , समय : १३:१८:४७ , २ घन्टा अगाडि