रुपन्देही खबर , ९२ पटक हेरिएको
भैरहवा, असार २०
युवा समाजसेवी सिद्धार्थनगर–४, रूपन्देहीले सिद्धार्थनगर नगरपालिका–वडा नम्बर ४ का प्लस टु (कक्षा १२) उत्तीर्ण विद्यार्थीलाई सम्मान गरेको छ । युवा समाजसेवी सिद्धार्थनगर ४ रुपन्देहीका अध्यक्ष रोशन बहादुर थापाको अध्यक्षता तथा लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोष पाण्डेको प्रमुख आतिथ्यतामा शनिबार भैरहवामा एक कार्यक्रमका बिच १६ जना बिद्यार्थीहरुलाई सम्मानपत्र, डायरी र कलम प्रदान गरी उनीहरूको आगामी शैक्षिक यात्राका लागि हौसला प्रदान गरिएको हो ।

बिद्यार्थीहरुलाई सम्मान गर्नु हुदै प्रमुख अतिथि मन्त्री पाण्डेले विद्यार्थीको सफलता व्यक्तिगत उपलब्धिमात्र नभई परिवार, विद्यालय र समाजका लागि पनि गौरवको विषय भएको बताउनु भएको छ । उहाले प्लस टु उत्तीर्ण गर्नु शिक्षा यात्राको अन्त्य नभई नयाँ अवसर र चुनौतीको सुरुवात भएको उल्लेख गर्दै युवाले उच्च शिक्षा, सीपमूलक तालिम र सकारात्मक सोचका साथ राष्ट्र निर्माणमा योगदान दिनुपर्ने धारणा राख्नु भयो ।
उहाले सरकारले युवालाई शिक्षा, खेलकुद, उद्यमशीलता र रोजगारीसँग जोड्ने विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिँदै अवसरको सदुपयोग गर्न विद्यार्थीलाई आग्रह गर्नु भएको छ । “आज सम्मानित हुनु गर्वको विषय हो, तर यसलाई अझ ठूलो जिम्मेवारीका रूपमा लिनुपर्छ। समाजले तपाईंहरूबाट धेरै अपेक्षा गरेको छ,” मन्त्री पाण्डेले भन्नु भयो ।
यस्तै गरी कार्यक्रमका संयोजक गोविन्द यादवले विद्यार्थीको मेहनत र सफलतालाई समाजले सम्मान गर्नुपर्छ भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनु भयो । उहाले शैक्षिक उत्कृष्टतालाई प्रोत्साहन गर्दा अन्य विद्यार्थीमा पनि सकारात्मक प्रतिस्पर्धा र अध्ययनप्रतिको आकर्षण बढ्ने विश्वास व्यक्त गर्नु भयो । उहाले आगामी वर्षहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता समेत गर्नु भएको छ ।
कार्यक्रमका अध्यक्ष रोशनबहादुर थापाले शिक्षित र सक्षम युवा नै समाज परिवर्तनका संवाहक भएको उल्लेख गर्दै युवामा अध्ययनसँगै नैतिकता, सामाजिक उत्तरदायित्व र नेतृत्व क्षमता विकास हुन आवश्यक रहेको बताउनु भएको छ । उहाले युवा समाजसेवी सिद्धार्थनगर–४ ले शिक्षा, स्वास्थ्य, सामाजिक सेवा तथा युवा सशक्तीकरणका क्षेत्रमा निरन्तर काम गर्दै आएको जानकारी दिनु भयो । उहाले आज प्रमाणपत्र पाउने बिद्यार्थीहरु ब्याचलर उत्तीर्ण भएमा युवा समाजसेवीले त्यो टिमलाई ल्यापटप प्रदान गर्ने प्रतिबद्धता गर्नु भयो ।

यस्तै गरी कार्यक्रममा बोल्दै विशिष्ट अतिथि समाजसेवी सतिशचन्द्र लाल श्रीवास्तवले सम्मानले विद्यार्थीमा थप आत्मविश्वास र जिम्मेवारीबोध बढाउने बताउनु भयो । उहाले उच्च शिक्षा हासिल गरी समाज र राष्ट्रको विकासमा योगदान दिन विद्यार्थीलाई आग्रह गर्दै सफलताको यात्रामा निरन्तर मेहनत र अनुशासन आवश्यक रहने बताउनु भयो ।

यस्तै गरी सम्मानित विद्यार्थी विष्णु कोहारले सम्मानले आगामी शैक्षिक यात्राका लागि थप प्रेरणा र ऊर्जा प्रदान गरेको बताउनु भयो । उहाले आफूजस्ता विद्यार्थीलाई समाजले गरेको सम्मानले अझ राम्रो नतिजा हासिल गर्न हौसला मिलेको उल्लेख गर्दै आयोजकप्रति आभार व्यक्त गर्नु भयो ।

कार्यक्रममा विद्यार्थीका अभिभावक, शिक्षक, समाजसेवी, युवा तथा स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले शैक्षिक उपलब्धिको सार्वजनिक सम्मानले विद्यार्थीमा सकारात्मक सोच, प्रतिस्पर्धात्मक भावना र समाजप्रतिको उत्तरदायित्व विकास गर्न सहयोग पुग्ने धारणा व्यक्त गरेका थिए ।
प्रकाशित मिति: २०२६-०७-०४ , समय : १८:४२:३६ , २ घन्टा अगाडि