कबिता : थाकेको आत्मा

गोविन्द राज ओझा (राजन) , ४१  पटक हेरिएको

डोटी, असार २४
शरीर नभए थाकेको, मन आज भारी छ,
मुस्कानभित्र लुकेको, पीडाको जारी छ।
दुःखसँगै दिन बिते, आशा अझै मरेन,
अँध्यारोले घेरे पनि, उज्यालो मन हराएन॥
सबैले भन्छन् बलियो, म त हाँसी हिँडिरहेँ,
आँसुका ती भेलहरू, मनभित्रै थामिरहेँ।
जिम्मेवारी काँधमाथि, बोकी अघि बढिरहेँ,
घाउ गहिरो भए पनि, मौन भएर सहिरहेँ॥
रातभरि निद्रा टाढा, सम्झनाले पोलिरह्यो,
एक्लोपनको पीडाले, अन्तरमन जलिरह्यो।
तर पनि विश्वासको, दीप कहिल्यै निभेन,
भोलिको त्यो सुनौलो, बिहानीमाथि डगमगेन॥
थाकेको यो आत्माले, हार कहिल्यै मान्दैन,
संघर्षको यात्रामा, साहस कहिल्यै सान्दैन।
अश्रुलाई शक्ति बनाई, उज्यालोतिर लाग्नेछ,
जीवनको प्रत्येक घाउ, सफलताले ढाक्नेछ॥
लेखक : गोविन्द राज ओझा (राजन)

प्रकाशित मिति: २०२६-०७-०८ , समय : १८:५८:५८ , ३ घन्टा अगाडि