एजेन्सी , ४६ पटक हेरिएको
असार २४
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका–इरान युद्धविराम अन्त्य भएको घोषणा गर्नुभएको छ । टर्किएको एङ्करामा भइरहेको उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो) को सम्मेलनमा बोल्दै ट्रम्पले अब आफूले उनीहरूसँग ‘डिल’ नगर्ने बताउनुभएको बीबीसीले जनाएको छ ।इरानसँग अब वार्ता गर्नु समय वर्बादी मात्रै रहेको भन्दै ट्रम्पले अमेरिका अब आफ्ना प्राथमिक काममा केन्द्रित हुन चाहेको बताउनुभयो । क्यान्सरलाई शुरूमै काटेर हटाउनुपर्ने आफ्नो धारणा रहेको उहाँ टिप्पणी छ ।
यसअघि हर्मुज जलमार्गमा तेल बोकेका ३ वटा ट्याङ्करमा आक्रमण भएको विवरणपछि अमेरिकाले आफूले ८० भन्दा धेरै इरानी निशानाहरूमा आक्रमण गरेको अमेरिकाले बताएको थियो । त्यसपछि ट्रम्पको यस्तो भनाइ आएको हो ।
तेल ट्याङ्करहरूमा आक्रमण भएको घटनाबारे इरानले जिम्मेवारी लिएको छैन । तर अमेरिकाले आक्रमण गरेपछि इरानले पनि आफूले बहराइन र कुवेतमा रहेका अमेरिकी सैन्य पूर्वाधारमा आक्रमण गर्ने चेतावनी दिएको छ । गएको महिना दुई देशबीच सबै मोर्चामा युद्धविराम विस्तार समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।
यसैबीच नेटोका प्रमुख मार्क रुटले इरानले शुरूमा युद्धविराम उल्लङ्घन गरेको आरोप लगाउँदै अमेरिकी आक्रमण पूर्णतः आवश्यक रहेको दाबी गर्नुभएको छ । इरानी संसद्का सभामुख मोहम्मद बोर गालिबाफले भने अमेरिकाले नै युद्धविरामको समझदारी उल्लङ्घन गरेको दाबी गर्नुभएको बीबीसीले जनाएको छ ।
युद्धविराम भङ्ग भएको ट्रम्पको घोषणासँगै अन्तर्राष्ट्रिय तेल बजारमा तत्कालै मूल्यवृद्धि भएको छ । ट्रम्पको भनाइ बाहिरिनुअघि प्रतिब्यारेल तेलको मूल्य ७६ अमेरिकी डलरभन्दा केही कम थियो । तर लगत्तै यसको मूल्य बढेर ७८ डलर पुगेको छ । तेलको मूल्य अझै बढ्ने अनुमान छ ।
प्रकाशित मिति: २०२६-०७-०८ , समय : १९:२७:२५ , २ घन्टा अगाडि