रुपन्देही खबर , ७४ पटक हेरिएको
भैरहवा, असार २६
रुपन्देहीको मायादेवी गाउँपालिका–५ गुरुवनियामा लागूऔषध नियन्त्रणका क्रममा प्रहरीले आत्मरक्षाका लागि गोली चलाउँदा एक भारतीय नागरिक घाइते भएका छन्। घटनामा घाइते भारतीय नागरिकसहित थप दुई नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार भारतको उत्तर प्रदेशबाट भारतीय नम्बर प्लेटको मोटरसाइकलमा नेपाल प्रवेश गरेका अकबाल खानलाई पक्राउ गर्ने क्रममा घटना भएको हो। गोप्य सूचनाका आधारमा परिचालित प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिन खोज्दा उनले आफूसँग रहेको पेस्तोल प्रयोग गर्ने प्रयास गरेपछि प्रहरीले आत्मरक्षाका लागि गोली चलाएको जनाएको छ। प्रहरीको गोली खानको खुट्टामा लागेर उनी सामान्य घाइते भएका छन्। उनलाई तत्काल नियन्त्रणमा लिएर उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ९डीएसपी० कृष्णकुमार चन्दका अनुसार खानको साथबाट एक थान पेस्तोल, त्यसमा प्रयोग हुने गोली, अन्दाजी २०० ग्राम ब्राउन सुगर तथा भारतीय नम्बर प्लेटको मोटरसाइकल बरामद गरिएको छ। बरामद भएको ब्राउन सुगरको वास्तविक तौल प्राविधिक परीक्षणपछि यकिन गरिने उहाले बताउनु भयो ।
यस घटनामा संलग्न रहेको आशंकामा प्रहरीले थप दुई नेपाली नागरिकलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। उनीहरूको नाम तथा परिचय अनुसन्धानको हितका लागि सार्वजनिक नगरिएको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानका आधारमा भारतबाट नेपालतर्फ लागूऔषध तस्करी भइरहेको आशंकामा अनुसन्धान केन्द्रित गरिएको डीएसपी चन्दले जानकारी दिनु भयो। बरामद भएको हतियारको स्रोत, लागूऔषधको गन्तव्य तथा पक्राउ परेकाहरूबीचको सम्बन्धबारे समेत अनुसन्धान भइरहेको छ।
रुपन्देही भारतसँग खुला सीमा जोडिएको जिल्ला भएकाले सीमावर्ती क्षेत्रबाट हुने लागूऔषध ओसारपसार नियन्त्रणका लागि प्रहरीले विशेष निगरानी बढाउँदै आएको छ। पछिल्लो घटनाले सीमा क्षेत्रलाई प्रयोग गरी भइरहेको लागूऔषध तथा अवैध हतियारको कारोबार नियन्त्रणमा सुरक्षा निकायले कडाइ गरिरहेको देखिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
प्रकाशित मिति: २०२६-०७-१० , समय : २३:१४:०७ , २ घन्टा अगाडि