रुपन्देही खबर , ४४ पटक हेरिएको
काठमाडौँ ,असार ३०
देशभर मनसुनी वायूको प्रभाव कायम रहेकाले आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भू-भाग नजिक रहेकाले देशभर मौसम बदली भएको हो।
हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा अधिकांश स्थानमा बादल लागेको छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका धेरै स्थान तथा लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश स्थानमा बादल लाग्नेछ। यी प्रदेशका पहाडी तथा तराई क्षेत्रका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थान तथा लुम्बिनी प्रदेशको पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
हिमाली क्षेत्रमा पनि वर्षा र हिमपातको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकीका हिमाली भू-भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रका थोरै स्थानमा वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा जारी रहने सम्भावना छ। त्यस्तै, कोशी प्रदेशको तराई र गण्डकी प्रदेशको पहाडी भू-भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ।
महाशाखाले भारी वर्षाको सम्भावना रहेका क्षेत्रका बासिन्दालाई सतर्क रहन, नदी–नाला आसपास तथा पहिरोको जोखिमयुक्त क्षेत्रमा आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।
प्रकाशित मिति: २०२६-०७-१४ , समय : ०७:३१:१३ , ३ घन्टा अगाडि