ब्याटरतर्फ बल फ्याँकेपछि भारतीय बलर ब्रार कारबाहीमा

रुपन्देही खबर , ३६  पटक हेरिएको

काठमाण्डाै,साउन १

आचारसंहिता उल्लङ्घन गरेकोमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले भारतीय तीव्र गतिका बलर गुरनूर ब्रारलाई चेतावनी दिएको छ । एजबास्टनमा घरेलु टोली इङ्ग्ल्यान्डसँगको पहिलो एकदिवसीय क्रिकेटका क्रममा २६ वर्षीय ब्रारले आचारसंहिता उल्लङ्घन गरेका थिए । आईसीसीले उनलाई चेतावनी दिँदै एक ‘डिमेरिट अङ्क’ दिएको छ ।

‘अन्तर्राष्ट्रिय खेलका क्रममा अनुचित वा खतरनाक तरिकाले खेलाडीतर्फ वा खेलाडीको नजिक बल प्रहार गर्ने’ कार्यसँग सम्बन्धित धाराको उल्लङ्घन गरेकोमा उनी दोषी ठहरिएका हुन् । इङ्ग्ल्यान्डको पारीको आठौँ ओभरमा भारतीय बलर ब्रारले फिल्डिङका क्रममा बल उठाएर ब्याटरतर्फ बल फ्याँकेका थिए ।

पहिलो एकदिवसीय क्रिकेटमा भारतले इङ्ग्ल्यान्डलाई ६ विकेटले हराएको थियो । ३ खेलको शृङ्खलाको दोस्रो खेल अहिले सोफिया गार्डेन्स क्रिकेट मैदानमा भइरहेको छ । शृङ्खलाको अन्तिम खेल आइतवार लर्ड्स क्रिकेट मैदानमा हुनेछ ।

यसअघि भएको ५ खेलको टी–२० शृङ्खला इङ्ग्ल्यान्डले ४–० ले जितेको थियो । इङ्ग्ल्यान्डले भारतसँग पहिलो टी–२० शृङ्खला जितेको थियो ।

प्रकाशित मिति: २०२६-०७-१७ , समय : ०८:३९:३० , २ घन्टा अगाडि