एजेन्सी , ४५ पटक हेरिएको
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले विदेशी विद्यार्थी भिसामा बस्न पाइने समयावधि ४ वर्षमा सीमित गर्ने नयाँ नियम घोषणा गरेको छ । अहिले विद्यार्थीहरूले आफू अध्ययनरत रहेसम्म सामान्यतया अमेरिकामा बस्न पाउने व्यवस्था छ । ट्रम्प प्रशासनले विदेशी विद्यार्थीहरूलाई थप कडिकडाउ गर्ने आफ्नो योजनाको अन्तिम सूचना सार्वजनिक गरेको बीबीसीले जनाएको छ । अब पाठ्यक्रमका कार्यक्रम परिवर्तन गर्ने तथा एकबाट अर्को विश्वविद्यालय वा कलेजमा सर्ने क्रम पनि निकै कम हुने खबरमा उल्लेख छ ।
नयाँ नियम आउँदो सेप्टेम्बर महिनादेखि लागू हुने भनिएको छ ।
होमल्यान्ड सेक्युरिटी विभागका अनुसार यो परिवर्तन विदेशी विद्यार्थीहरूको सङ्ख्यामा भएको उल्लेख्य वृद्धिलाई सम्बोधन गर्न तथा भिसाको स्थितिलाई प्रयोग गरी दशकौँसम्म देशमा बसिरहने विद्यार्थीहरूलाई ध्यानमा राखेर गरिएको हो । विभागले यसलाई भिसाको जथाभाबी दुरुपयोग रोक्ने तथा नियमित निगरानीमार्फत राष्ट्रिय सुरक्षा सुदृढ हुने कदमका रूपमा उल्लेख गरेको छ ।
तर एसोसिएशन अफ इन्टरनेशनल एजुकेटर्सले नयाँ नियमलाई अनावश्यक तथा गलत रूपमा निर्देशित भनेको छ । अब नयाँ नियमानुसार विदेशी विद्यार्थीहरूले ग्र्याजुएशनपछि स्वदेश फर्किन वा अर्को वर्गको भिसा हासिल गर्न ३० दिनको समय पाउनेछन् । यसअघि यस्तो अवधि ६० दिनको हुने गर्थ्याे ।
यी नियमहरू विदेशी विद्यार्थीहरूको सङ्ख्या घटाउने तथा आप्रवासन रोक्ने ट्रम्प प्रशासनको नीतिअन्तर्गत पर्छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२५ को जनवरीमा पदभार ग्रहण गरेपछि आप्रवासनसम्बन्धी व्यापक कडाइको शुरुआत गर्नुभएको थियो । यस क्रममा विश्वविद्यालयका विद्यार्थीहरूको वैचारिक दृष्टिकोणका कारण उनीहरूको विद्यार्थी भिसा र ‘ग्रीन कार्ड’ खारेज गरिएका छन् भने लाखौँ आप्रवासीको कानूनी हैसियत खोसिएको छ ।
प्रकाशित मिति: २०२६-०७-१७ , समय : १९:१२:१० , ३ घन्टा अगाडि