लुम्बिनी नलकूप जल उपभोक्ता क्षेत्रीय समिति मानपकडीको ३५औँ वार्षिक साधारणसभा सम्पन्न

सिँचाइ प्रणालीको दिगो व्यवस्थापन, पारदर्शिता र किसानको सक्रिय सहभागितामा जोड

तुलसीराम पौडेल , ४५  पटक हेरिएको

भैरहवा,साउन २

लुम्बिनी नलकूप जल उपभोक्ता संघ क्षेत्रीय समिति मानपकडी, रुपन्देहीको ३५औँ वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ।कार्यक्रममा सिँचाइ प्रणालीको दिगो व्यवस्थापन, संस्थागत सुदृढीकरण तथा किसानमुखी सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा विशेष जोड दिइएको छ। समितिका अध्यक्ष नवलराज शर्मा भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लुम्बिनी नलकूप जल उपभोक्ता संघ मूल समितिका उपाध्यक्ष चन्द्रदत्त पौडेल प्रमुख अतिथि रहनुभएको थियो।

प्रमुख अतिथि पौडेलले सिँचाइ प्रणालीको प्रभावकारी सञ्चालनका लागि जल उपभोक्ताबीच एकता, पारदर्शिता र जिम्मेवारीबोध अपरिहार्य रहेको बताउनुभयो। उहाँले समयमै नलकूपको मर्मत–सम्भार, उपभोक्ताको सक्रिय सहभागिता तथा संस्थागत सुदृढीकरणमार्फत सिँचाइ सेवाको गुणस्तर सुधार गर्नुपर्नेमा जोड दिनुभयो। कृषिको उत्पादन वृद्धि र किसानको आयआर्जनसँग सिँचाइ प्रणाली प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गर्दै यसको संरक्षण र दिगोपन सबैको साझा जिम्मेवारी भएको उहाँको भनाइ थियो।

अध्यक्ष नवलराज शर्मा भट्टराईले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै गत आर्थिक वर्षमा सम्पन्न कार्यक्रम, सिँचाइ सेवा सञ्चालनको अवस्था, संस्थाले हासिल गरेका उपलब्धि तथा आगामी कार्ययोजनाबारे जानकारी गराउनुभयो। उहाँले संस्थालाई अझ प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाउँदै किसानलाई गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा पूर्व कृषि अधिकृत चन्द्रबहादुर जिसीले शुभकामना मन्तव्य व्यक्त गर्दै उपलब्ध सिँचाइ सुविधाको अधिकतम उपयोग गरी कृषि उत्पादन वृद्धि गर्न किसानलाई आग्रह गर्नुभयो।

संस्थाका क्षेत्रीय प्रतिनिधि रेसमलाल उपाध्यायले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा व्यवस्थापन क्षेत्रीय सचिव रमेशचन्द्र मिश्रले धन्यवाद ज्ञापन गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन जल उपभोक्ता सदस्य जितबहादुर चौधरीले गर्नुभएको थियो।

साधारणसभामा संस्थाको वार्षिक प्रगति, सिँचाइ सेवा सञ्चालनको वर्तमान अवस्था तथा आगामी कार्ययोजनामाथि सहभागीहरूले विस्तृत छलफल गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विषयमा सुझाव दिएका थिए।

प्रकाशित मिति: २०२६-०७-१८ , समय : २०:३३:१५ , ४ घन्टा अगाडि