रुपन्देही प्रहरीले २६ ग्राम ३५० मिलिग्राम ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रोहिणी गाउँपालिका–७ पर्सा निवासी ४६ वर्षीय अकवाल देवान रहेका छन्।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार लागुऔषध नियन्त्रण शाखा कार्यालय भैरहवा र जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले बिहीबार दिउँसो तिलोत्तमा नगरपालिका–९ स्थित मंगलापुर चोकमा शंकास्पद रूपमा हिँडिरहेका देवानलाई रोकी खानतलासी गरेको थियो।
खानतलासीका क्रममा उनको पाइन्टको गोजीमा लुकाइराखिएको अवस्थामा ब्राउन सुगरजस्तो देखिने २६ ग्राम ३५० मिलिग्राम पदार्थ फेला परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। प्रहरीले बरामद गरिएको पदार्थसहित देवानलाई नियन्त्रणमा लिएर लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।
प्रकाशित मिति: २०२६-०७-२४ , समय : ११:१०:२३ , २ घन्टा अगाडि