रुपन्देही खबर , ४४ पटक हेरिएको
भैरहवा, साउन ९
नेपाल र भारतका पत्रकारबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले नेपाल–भारत मिडिया कप क्रिकेट प्रतियोगिता–२०८३ भैरहवामा आयोजना हुने भएको छ। लुम्बिनी प्रेस क्लब, नेपालको आयोजनामा तथा रुपन्देही क्रिकेट संघको सहआयोजनामा सिद्धार्थनगर नगरपालिका–३ स्थित सिद्धार्थ क्रिकेट रंगशालामा भोलि बिहान ७ बजेदेखि प्रतियोगिता सञ्चालन हुने आयोजकले आज भैरहवामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले नेपाल–भारत मिडिया कपको तेस्रो संस्करण भारतमा सम्पन्न भइसकेको र नेपालमा दोस्रो संस्करण आयोजना हुन लागेको जानकारी दिनुभयो। उहाँले नेपाल र भारतबीच रहेको ऐतिहासिक, सांस्कृतिक, धार्मिक, सामाजिक तथा आर्थिक सम्बन्धलाई जनस्तरमा अझ सुदृढ बनाउन सञ्चारकर्मीबीचको सहकार्य अपरिहार्य रहेको बताउनुभयो।
“खेलकुदको माध्यमबाट दुई देशका पत्रकारबीच मित्रता, भाइचारा, आपसी विश्वास र व्यावसायिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेका हौं। यसले पत्रकारबीचको सम्बन्ध मात्र होइन, नेपालको पर्यटन प्रवर्द्धनमा पनि सकारात्मक योगदान पुग्ने विश्वास लिएका छौं,” अध्यक्ष रायमाझीले भन्नुभयो।
कार्यक्रम संयोजक तथा लुम्बिनी प्रेस क्लबका कार्यसमिति सदस्य भीम भण्डारीले प्रतियोगितामा नेपाल र भारतका पत्रकारसहित अतिथि र दर्शक गरी करिब एक हजार जनाको सहभागिता रहने अपेक्षा गरिएको बताउनुभयो। उहाँका अनुसार प्रतियोगिताको मुख्य आकर्षण नेपाल र भारतका पत्रकारबीच हुने मैत्रीपूर्ण क्रिकेट खेल हुनेछ।
उहाँले क्रिकेट प्रतियोगितासँगै उद्घाटन समारोह, पुरस्कार तथा ट्रफी वितरण, पत्रकार तथा विशिष्ट व्यक्तित्व सम्मान कार्यक्रम तथा नेपाल–भारत सम्बन्ध र सीमावर्ती क्षेत्रका साझा विषयमा सर्वपक्षीय अन्तरक्रिया समेत आयोजना गरिने जानकारी दिनुभयो।
भण्डारीले लुम्बिनी प्रेस क्लब र भारतको प्रेस क्लब अफ महाराजगञ्जबीच विगतदेखि कायम रहेको मैत्रीपूर्ण तथा संस्थागत सम्बन्धलाई थप विस्तार गर्ने उद्देश्यले प्रतियोगितालाई निरन्तरता दिइएको बताउनुभयो।
“दुई देशका पत्रकारबीच समाचार तथा सूचना आदानप्रदान, व्यावसायिक सहकार्य र सीमापार पत्रकारितालाई थप प्रभावकारी बनाउन यो प्रतियोगिता महत्वपूर्ण हुनेछ। सीमावर्ती क्षेत्रमा हुने लागूऔषध ओसारपसार, मानव बेचबिखन, अपराध, अवैध व्यापार तथा सामाजिक विकृतिविरुद्ध जनचेतना अभिवृद्धि गर्न पनि पत्रकारबीचको सहकार्य आवश्यक छ,” उहाँले भन्नुभयो।
उहाँका अनुसार प्रतियोगिताले सामाजिक सद्भाव, पर्यटन प्रवर्द्धन, व्यापारिक सम्बन्ध तथा नेपाल–भारतबीचको जनस्तरीय सम्बन्ध विस्तारमा समेत सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ।
आयोजकका अनुसार प्रतियोगिता सञ्चालनका लागि करिब ८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
पत्रकार सम्मेलनमा रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापाले यस्ता प्रतियोगिताले खेलकुदसँगै पत्रकारबीचको सम्बन्धलाई बलियो बनाउने भएकाले आगामी वर्षहरूमा पनि निरन्तरता दिनुपर्ने बताउनुभयो।
त्यसैगरी प्रेस क्लब अफ महाराजगञ्ज भारत का अध्यक्ष अमित त्रिपाठीले क्रिकेट प्रतियोगिताले नेपाल र भारतबीचको मित्रवत सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले पत्रकारबीचको नियमित भेटघाट र सहकार्यले सीमापार पत्रकारितालाई अझ प्रभावकारी बनाउने धारणा राख्नुभयो।
पत्रकार सम्मेलनमा लुम्बिनी प्रेस क्लबका उपाध्यक्ष दीपेन्द्र बडुवाल, दीपक घिमिरे लगायतले प्रतियोगिताको सफल आयोजनाका लागि सबै पक्षको सहयोग आवश्यक रहेको बताउनु भएको थियो । आयोजकका अनुसार नेपाल–भारत मिडिया कपलाई आगामी वर्षहरूमा पनि निरन्तर आयोजना गर्दै दुई देशका पत्रकारबीचको व्यावसायिक सम्बन्ध, मित्रता र सहकार्यलाई थप उचाइमा पुर्याउने लक्ष्य राखिएको छ।
प्रकाशित मिति: २०२६-०७-२५ , समय : १५:००:२९ , २ घन्टा अगाडि