रुपन्देही खबर , ४८ पटक हेरिएको
भैरहवा, साउन ९
रुपन्देहीको मायादेवी गाउँपालिका–७ को नवनिर्मित वडा कार्यालय भवन शुक्रबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ। स्थानीय सरकारबाट प्रवाह हुने सेवा–सुविधालाई थप सहज, प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यले निर्माण गरिएको भवनको गाउँपालिका अध्यक्ष ध्रुवनारायण चौधरी र वडा नं ७ का वडाध्यक्ष शैलेन्द्रकुमार पाण्डेयले संयुक्त रूपमा उद्घाटन गर्नुभएको हो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष चौधरीले स्थानीय सरकारको मुख्य उद्देश्य नागरिकलाई घरदैलोमै सहज र गुणस्तरीय सेवा उपलब्ध गराउनु रहेको बताउँदै त्यसका लागि आवश्यक भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको उल्लेख गर्नुभयो। उहाँले शिक्षा, स्वास्थ्य, कृषि, सडक तथा प्रशासनिक पूर्वाधार विकासलाई गाउँपालिकाले समान प्राथमिकताका साथ अघि बढाइरहेको जानकारी दिँदै नयाँ वडा कार्यालय भवनले वडा नं। ७ का नागरिकलाई छिटोछरितो र प्रभावकारी सेवा उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
अध्यक्ष चौधरीले सार्वजनिक संरचनाको संरक्षण र सदुपयोगमा स्थानीयवासीको पनि उत्तिकै जिम्मेवारी रहने उल्लेख गर्दै आगामी विकास निर्माणका योजनामा सबैको सहयोग आवश्यक रहने धारणा राख्नुभयो।
कार्यक्रममा बोल्दै वडा नं ७ का वडाध्यक्ष शैलेन्द्रकुमार पाण्डेयले नवनिर्मित वडा कार्यालय भवन स्थानीय सरकारको सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउने दिशामा महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो। आफ्नै सुविधा सम्पन्न भवन सञ्चालनमा आएपछि सेवाग्राहीले सहज वातावरणमा छिटोछरितो सेवा प्राप्त गर्ने विश्वास व्यक्त गर्दै उहाँले भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने स्थानीयवासी तथा निर्माण कार्य समयमै सम्पन्न गर्न योगदान पुर्याउने सबै पक्षप्रति आभार व्यक्त गर्नुभयो।
वडाध्यक्ष पाण्डेयले वडा नं ७ को समग्र विकासका लागि सडक, शिक्षा, स्वास्थ्य, कृषि तथा खानेपानीलगायतका क्षेत्रमा योजनाबद्ध रूपमा काम भइरहेको जानकारी दिँदै आगामी दिनमा पनि नागरिकको आवश्यकता र सुझावलाई प्राथमिकतामा राखेर विकास निर्माणका कार्यक्रम अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
यस्तै गरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज भण्डारीले सार्वजनिक सम्पत्तिको संरक्षण र दीर्घकालीन उपयोगमा सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो। नयाँ भवन सञ्चालनसँगै सेवाग्राहीले सहज वातावरणमा सेवा प्राप्त गर्ने र प्रशासनिक कार्यसम्पादन थप प्रभावकारी हुने बताउँदै उहाँले छोटो समयमा भवन निर्माण सम्पन्न हुनु सकारात्मक उपलब्धि भएको उल्लेख गर्नुभयो। साथै, बाँकी रहेका निर्माण कार्यसमेत छिट्टै सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो।
मायादेवी गाउँपालिका–८ का वडाध्यक्ष चोकबहादुर थापाले स्थानीय तहका कार्यालयलाई नागरिकमैत्री बनाउन व्यवस्थित कार्यालय भवन आवश्यक रहेको बताउँदै विकास निर्माणका कार्यमा जनप्रतिनिधि, कर्मचारी र स्थानीयवासीबीचको समन्वय अपरिहार्य रहेको धारणा राख्नुभयो।
यस्तै गरी कार्यक्रममा गाउँपालिकाका प्राविधिक अधिकृत प्रकाश थापाले भवन निर्माणसम्बन्धी प्राविधिक विवरण प्रस्तुत गर्दै रु १ करोड ३५ लाखको लागतमा ठेक्का सम्झौताअनुसार भवन निर्माण सम्पन्न भएको जानकारी दिनुभयो। उहाँले भवन स्वीकृत डिजाइन, मापदण्ड र गुणस्तरअनुसार निर्माण गरिएको तथा कार्यालय कक्ष, बैठक कक्षलगायत आवश्यक पूर्वाधारको व्यवस्था गरिएको बताउनुभयो।
यस्तै गरी श्री गैरगट्टी माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेशमणि त्रिपाठीले स्थानीय तहमा पूर्वाधार विकाससँगै शिक्षा, स्वास्थ्य र प्रशासनिक सेवाको गुणस्तरमा सुधार आउने विश्वास व्यक्त गर्दै वडा कार्यालयको आफ्नै सुविधा सम्पन्न भवन निर्माण हुनु स्थानीय सरकारको संस्थागत विकासका लागि महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो।
वडा सचिव विजयकुमार यादवले स्वागत मन्तव्य व्यक्त गर्दै नयाँ भवन सञ्चालनसँगै सेवा प्रवाह थप व्यवस्थित र प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले सीमित स्रोत–साधनका बाबजुद नागरिकलाई गुणस्तरीय सेवा प्रदान गर्ने प्रयास जारी रहेको उल्लेख गर्दै भवन निर्माणमा सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गर्नुभयो।
वडा कार्यालय परिसरमा आयोजित कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, शिक्षक, समाजसेवी तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन रामकृष्णले गर्नुभएको थियो।
कार्यक्रमकै अवसरमा वडा कार्यालय भवन निर्माणका लागि जग्गा उपलब्ध गराई महत्वपूर्ण योगदान पुर्याएका स्थानीय रामनेवास यादवलाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो। साथै, वडा सचिव विजयकुमार यादवसहित अन्य सामाजिक व्यक्तित्वहरूलाई पनि सम्मान गरिएको थियो।

स्थानीय तहको संस्थागत क्षमता अभिवृद्धि गर्दै नागरिकलाई प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले निर्माण गरिएको यो भवन सञ्चालनमा आएपछि वडा कार्यालयबाट प्रवाह हुने प्रशासनिक सेवा थप व्यवस्थित, सहज र सेवामुखी हुने अपेक्षा गरिएको गाउँपालिकाले जनाएको छ।
प्रकाशित मिति: २०२६-०७-२५ , समय : २२:४१:५२ , २ घन्टा अगाडि