असारको बिजुली बिलमा तिरेको भ्याट भदौको बिलमा समायोजन हुने

रुपन्देही खबर , ५०  पटक हेरिएको

काठमाण्डौ,साउन १२

नेपाल विद्युत् प्राधिकरणले उपभोक्ताले असारमा खपत गरेको बिजुली महसुलमा तिरिसकेको मूल्य अभिवृद्धि कर (भ्याट) रकम अग्रिम भुक्तानीको रूपमा कायम गरी अर्को महिना भदौको बिलमा समायोजन गर्ने भएको छ ।

प्राधिकरणले सार्वजनिक सूचना निकालेर ग्राहकले तिरिसकेको भ्याटलाई भदौको बिलमा समायोजन गर्ने जनाएको हो । यसअघि प्राधिकरणले असारमै खपत गरेको बिजुलीको बिलमा भ्याट जोडेर साउनयता ग्राहकलाई पठाएको थियो । यसको चौतर्फी विरोध भएको थियो । साउन १ गतेदेखि लाग्ने भ्याट किन असारमै जोडेको भन्दै प्राधिकरणको आलोचना पनि भएको थियो ।

त्यसपछि प्राधिकरणले यसबारे आन्तरिक राजश्व विभागसँग राय मागेको थियो । त्यसैलाई स्पष्ट पार्दै विभागले हिजो विज्ञप्ति निकालेको हो । आन्तरिक राजश्व विभागले बिजुली खपतमा लाग्ने मूल्य अभिवृद्धि कर १ साउनबाट मात्र आकर्षित हुने राय दिएसँगै अन्योल हटेको छ । आर्थिक ऐन २०८३ ले मूल्य अभिवृद्धि कर ऐन २०५३ संशोधन गरी सरकारले विद्युत् सेवा प्रदान गर्ने अन्तिम उपभोक्तालाई ५ प्रतिशत तथा अन्य व्यक्तिका सम्बन्धमा १३ प्रतिशतका दरले मूल्य अभिवृद्धि कर लाग्ने व्यवस्था गरेको थियो । अब साउनअघिको विद्युत् खपतको बिलमा भ्याट तिरेका ग्राहकले भदौमा पाउने बिलमा तिरेको रकम बराबरको छुट पाउने भएका छन् ।

प्रकाशित मिति: २०२६-०७-२८ , समय : ०९:२९:३३ , २ घन्टा अगाडि