रुपन्देही खबर , ४८ पटक हेरिएको
भैरहवा, साउन १२
जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा गरेको चेकजाँचका क्रममा अवैध रूपमा भन्सार छली गरी नेपाल भित्र्याइएका अनुमानित रु २ लाख ७३ हजार २ सय ५० बराबरका सामान नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार साउन ११ गते जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरिएको विशेष चेकजाँचका क्रममा भन्सार छलीका सामान बरामद गरिएको हो। बरामद गरिएका सबै सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बेलहिया, रुपन्देही पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीले सिद्धार्थनगर नगरपालिका–८ को अञ्चलपुर क्षेत्रबाट करिब रु ४८ हजार बराबरका १६० थान दरी कपडा बरामद गरेको छ।
त्यसैगरी सिद्धार्थनगर नगरपालिका–१ बेलहिया–कोटहीमाई सडकखण्डबाट रु। ६८ हजार ५५० बराबरका २६ थान लेडिज सुट, एक थान लेडिज टप्स तथा विभिन्न किसिमका किराना सामान बरामद गरिएको छ।
यस्तै सिद्धार्थनगर नगरपालिका–८ बुद्धचोकबाट रु। ५० हजार बराबरका ५० थान डीसी मोटर्स पार्ट्स नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीले ओमसतिया गाउँपालिका–३ हाटी फर्साटिकरबाट लु १२ प ३६२० र लु २१ प २१२० नम्बरका दुई मोटरसाइकलसहित रु। १ लाख ६ हजार ७०० बराबरका विभिन्न किसिमका तरकारी पनि बरामद गरेको छ।
भारतसँग खुला सीमा जोडिएको रुपन्देहीमा भन्सार छली नियन्त्रणका लागि प्रहरीले नियमित रूपमा चेकजाँचलाई तीव्र बनाएको जनाएको छ। प्रहरीले अवैध आयात तथा राजस्व छली नियन्त्रणका लागि यस्ता अभियानलाई निरन्तरता दिने पनि जनाएको छ।
प्रकाशित मिति: २०२६-०७-२८ , समय : १०:१०:३७ , १ घन्टा अगाडि