रुपन्देही खबर , ३८ पटक हेरिएको
बुटवल, भदौ ५
रुपन्देहीको बुटवल उपमहानगरपालिका–३ गोलपार्कबाट जुवा खेलिरहेको अवस्थामा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले भदौ ४ गते अपराह्न करिब ४ः२५ बजे गोलपार्क क्षेत्रमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा छापा मारेको थियो। सो क्रममा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई नगद तथा ताससहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा रुपन्देही देवदह नगरपालिका–५ का ३४ वर्षीय आकाश गुरुङ, गुल्मी दरबार गाउँपालिका–४ का ३८ वर्षीय वीरबहादुर कार्की, रेसुङ्गा नगरपालिका–८ का ४४ वर्षीय राज श्रेष्ठ, बुटवल उपमहानगरपालिका–३ का ५६ वर्षीय देव शाही र बुटवल–८ का ५३ वर्षीय पदम कुँवर रहेका छन्।
त्यस्तै बुटवल–८ कै ७२ वर्षीय गणेशबहादुर कार्की, गुल्मी चन्द्रकोट गाउँपालिका–८ का ३५ वर्षीय लक्ष्मण महत, पाल्पा रिब्दीकोट गाउँपालिका–५ का ४९ वर्षीय कृष्ण थापा र बुटवल–१० का ४२ वर्षीय नेत्र पोख्रेल पनि पक्राउ परेका छन्।
प्रहरीले उनीहरूको साथबाट नेपाली नगद १ लाख ३२ हजार ६ सय ८५ रुपैयाँ र तासका ८ गड्डी बरामद गरेको जनाएको छ। पक्राउ परेकामाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाउँदै घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।
प्रकाशित मिति: २०२६-०८-२१ , समय : २०:१९:११ , २ घन्टा अगाडि