विद्यार्थी सम्मान कार्यक्रमले राहुल यादवको प्रशंसा, शिक्षामा लगानी बढाउनुपर्नेमा जोड

रुपन्देही खबर , ५७  पटक हेरिएको

मर्चवार, भदौ ८

रुपन्देहीको कोटहीमाई गाउँपालिकामा कक्षा १२ उत्तीर्ण १२० विद्यार्थीलाई सम्मान गर्दै उत्कृष्ट चार विद्यार्थीलाई साइकल प्रदान गरिएको कार्यक्रमका वक्ताहरूले आयोजक युवा नेता तथा समाजसेवी राहुल यादवको सामाजिक तथा शैक्षिक क्षेत्रमा गरेको पहलको प्रशंसा गरेका छन्।

कोटहीमाई गाउँपालिका–६ का यादवको आयोजनामा शनिबार कोटहीमाई–५, मझगावामा भएको बधाई तथा सम्मान कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, समाजसेवी तथा स्थानीयले विद्यार्थीको मनोबल बढाउन सम्मान कार्यक्रम आयोजना गर्नु सकारात्मक अभ्यास भएको बताएका हुन्।

कार्यक्रममा बोल्दै श्री मर्यादपुर माध्यमिक विद्यालयका प्रधानाध्यापक दयानाथ यादवले कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई स्थानीय तह र जनप्रतिनिधिले समेत प्रोत्साहन गर्नुपर्ने बताउनुभयो। स्थानीय तहबाट हुनुपर्ने काम समाजसेवी राहुल यादवले व्यक्तिगत पहलमा गरेको भन्दै उहाँले प्रशंसा गर्नुभयो। यस्तो कार्यक्रमले विद्यार्थीलाई थप ऊर्जा र आत्मविश्वास प्रदान गर्ने उहाँको भनाइ थियो।

ठर्की माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक तथा वरिष्ठ शिक्षक बलिराम यादवले विद्यार्थीको शैक्षिक उपलब्धिलाई सम्मान गरेर राहुल यादवले मर्चवारका विद्यार्थीको मनोबल बढाउने काम गरेको बताउनुभयो। ग्रामीण क्षेत्रका विद्यार्थीलाई अध्ययनमा अघि बढ्न यस्ता प्रोत्साहनात्मक कार्यक्रम आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो।

सूर्यदेव माध्यमिक विद्यालयका प्रधानाध्यापक भरत गिरीले पनि यादवको पहललाई उदाहरणीय बताउनुभयो। उहाँले कुनै सार्वजनिक पदमा नरहे पनि विद्यार्थीको मेहनत र अभिभावकको लगानीलाई सम्मान गर्दै कार्यक्रम आयोजना गर्नु सकारात्मक सन्देश भएको बताउनुभयो। अबको नेतृत्वले शिक्षा, स्वास्थ्य, रोजगारी, सुशासन र पूर्वाधार विकासलाई प्राथमिकता दिनुपर्ने उहाँको भनाइ थियो।

“हामी युवाहरूले अब राम्रो शिक्षा, स्वास्थ्य, रोजगारी, सुशासन र विकास चाहेका छौँ,” गिरीले भन्नुभयो, “शिक्षित नागरिक, सक्षम युवा र गुणस्तरीय शिक्षा नै समृद्ध पालिका निर्माणको आधार हो।”

कार्यक्रममा युवा समाजसेवी सन्दीप चौधरीले मर्चवारमा विभिन्न कार्यक्रम हुने गरे पनि विद्यार्थीको शैक्षिक उपलब्धिलाई लक्षित गरी सम्मान कार्यक्रम आयोजना हुनु सकारात्मक भएको बताउनुभयो। राहुल यादवले यसअघि पनि विद्यार्थी सम्मान कार्यक्रम आयोजना गरेको उल्लेख गर्दै उहाँको पहलको प्रशंसा गर्नुभयो।

जनता समाजवादी पार्टी (जसपा) रुपन्देहीका अध्यक्ष सियाराम यादवले समेत राहुल यादवको सामाजिक सक्रियताको प्रशंसा गर्नुभयो। उहाँले कोटहीमाई गाउँपालिकाको विकास र समृद्धिका लागि यादवले पुर्‍याएको योगदानको चर्चा गर्दै आगामी निर्वाचनमा पार्टीको तर्फबाट उहाँलाई गाउँपालिका अध्यक्षको उम्मेदवार बनाउन सकिने धारणा व्यक्त गर्नुभयो।

यादवले पालिकाबासीका समस्या र पीडामा राहुल यादव समुदायबीच देखिएको बताउँदै उहाँमा पालिकाको विकासप्रतिको जिम्मेवारीबोध रहेको धारणा राख्नुभयो। राम्रो सोच र विकासको नीति भएका व्यक्तिलाई समुदायले सहयोग गर्नुपर्ने उहाँको भनाइ थियो।

कार्यक्रमका आयोजक राहुल यादवले भने विद्यार्थीको सम्मान आफ्नो व्यक्तिगत प्रचारभन्दा पनि उनीहरूको मेहनत र उपलब्धिको कदर गर्ने उद्देश्यले गरिएको बताउनुभयो। उहाँले मर्चवारको विकासको पहिलो आधार शिक्षा भएको उल्लेख गर्दै विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्न मेहनत गर्न आग्रह गर्नुभयो।

उहाँले आगामी दिनमा कोटहीमाईमा मात्र सीमित नरही समग्र मर्चवार क्षेत्रका कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई समेटेर सम्मान कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभयो। उत्कृष्ट विद्यार्थीलाई आगामी दिनमा ल्यापटप उपलब्ध गराउने योजना समेत उहाँले सुनाउनुभयो।

कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउने चार विद्यार्थीलाई साइकल प्रदान गरिएको थियो। मर्यादपुर माध्यमिक विद्यालयकी सीता कुमारी पालले ३.७, श्रीराम माध्यमिक विद्यालयकी सन्ध्या यादवले ३.११, मर्चवार आदर्श माध्यमिक विद्यालयकी गुडिया गुप्ता बनियाले ३.२६ तथा श्री बोगडी माध्यमिक विद्यालयका अशोक कुमार यादवले २.९४ जीपीए हासिल गरेका थिए।

कार्यक्रममा ब्राइट स्टार इङ्गलिस बोर्डिङ सेकेण्डरी स्कुलका प्रबन्धक अमित यादवले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई ल्यापटप प्रदान गर्ने प्रतिबद्धता जनाउनुभयो। वक्ताहरूले शिक्षा सामाजिक तथा आर्थिक रूपान्तरणको आधार भएकाले विद्यालय, अभिभावक, स्थानीय तह र समुदायबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।

एभरग्रीन प्यासिफिक इङ्गलिस हाइस्कुलका प्रिन्सिपल प्रमोद यादवको स्वागत मन्तव्य तथा मुकेश यादवको सञ्चालनमा सम्पन्न कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, समाजसेवी, विद्यार्थी र स्थानीयको सहभागिता थियो।

प्रकाशित मिति: २०२६-०८-२४ , समय : १०:५१:३३ , २ घन्टा अगाडि