रुपन्देही खबर , २१६ पटक हेरिएको
भैरहवा,भदौ १७
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि युसीएमएस शिक्षण अस्पताल, भैरहवाले २५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त स्वास्थ्य सेवामा निजी क्षेत्रबाट सञ्चालित नेपालको पहिलो मेडिकल कलेजका रूपमा रहेको युसीएमएस शिक्षण अस्पतालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी उक्त रकम सहयोग गरेको हो।
अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा युसीएमएस शिक्षण अस्पतालका अध्यक्ष रमेश शर्माले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई २५ लाख रुपैयाँको सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो।
भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत जिल्लाका नदी तथा खोलाका तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। बाढीबाट प्रभावित नागरिकको तत्काल उद्धार, राहत वितरण तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले अस्पतालले आर्थिक सहयोग गरेको युसीएमएस शिक्षण अस्पतालका कम्पनी सचिव राजु बस्नेत क्षेत्रीले जानकारी दिनुभयो।
प्राकृतिक विपद्का कारण प्रभावित नागरिकलाई राज्यको तर्फबाट सञ्चालन हुने उद्धार तथा राहत अभियानमा निजी क्षेत्रको समेत सहकार्य आवश्यक रहेकाले सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरिएको अस्पतालले जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा मानवीय क्षति न्यूनीकरण, विस्थापितको व्यवस्थापन तथा पुनःस्थापनाका लागि आवश्यक स्रोत जुटाउन सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत सहयोग संकलन गर्दै आएको छ। युसीएमएसको सहयोग पनि सोही कोषमा जम्मा हुने गरी हस्तान्तरण गरिएको हो।
अस्पतालले स्वास्थ्य सेवासँगै विपद्का समयमा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि सहयोग गरेको जनाएको छ।
प्रकाशित मिति: २०२६-०९-०२ , समय : ०९:२७:२० , ५ दिन अगाडि