पश्चिम अमवा खानेपानी संस्थाद्वारा बाढीपीडितलाई ५१ हजार सहयोग

तुलसीराम पौडेल , ५८  पटक हेरिएको

पश्चिम अमवा, भदौ २३

सियारी गाउँपालिका–७, पश्चिम अमवास्थित पश्चिम अमवा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले बाढी तथा पहिरो प्रभावित नागरिकको राहतका लागि ५१ हजार १५१ रुपैयाँ सहयोग गरेको छ।


संस्थाले २०८३ भदौ १० गते आएको विनाशकारी बाढी तथा पहिरोबाट रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको हो।

संस्थाका अनुसार कुल सहयोग रकममध्ये संस्थाको तर्फबाट ४० हजार ६८६ रुपैयाँ र कर्मचारीबाट १० हजार ४६५ रुपैयाँ संकलन गरिएको हो।

संस्थाले बाढी तथा पहिरोमा परी ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

बाढी तथा पहिरोका कारण बेपत्ता र सम्पर्कविहीन भएका नागरिकको यथाशीघ्र खोजी तथा सकुशल उद्धार गर्न संस्थाले आग्रह गरेको छ। प्रभावित तथा विस्थापित नागरिकको सुरक्षित पुनर्स्थापनाका लागि समेत सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ।

संस्थाले विपद्को समयमा उद्धार, खोज तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक तथा सम्बन्धित निकायप्रति सम्मान व्यक्त गर्दै प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा सबै पक्ष एकजुट भएर सहयोग र सहकार्य गर्न अपिल गरेको छ।

प्रकाशित मिति: २०२६-०९-०८ , समय : १४:३७:५८ , १ घन्टा अगाडि