रुपन्देहीमा भन्सार छलीका १७ लाख ५८ हजारका सामान बरामद
रुपन्देही खबर ,
५४ पटक हेरिएको
भैरहवा, भदौ २३
रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट भन्सार छली गरी चोरी–पैठारी गरिएको करिब १७ लाख ५८ हजार २ सय रुपैयाँ बराबरका सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले सोमबार जिल्लाका विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा भन्सार छली गरी ल्याइएका सामान बरामद गरेको हो । बरामद सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बेलहिया, रुपन्देही पठाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बुटवल उपमहानगरपालिका–५ अमरपथबाट सबैभन्दा बढी १२ लाख १ हजार रुपैयाँ बराबरका ५६० पिस कुर्ता–सुरुवाल र ५४ पिस बच्चाका फ्रक बरामद गरिएको छ ।
यस्तै, कोटहीमाई गाउँपालिका–७ कटैयाबाट २९ हजार रुपैयाँ बराबरका मोबाइलका ७ पिस डिस्प्ले, ६ पिस कभर, २ पिस चार्जर, २ पिस ब्याट्री, ४० पिस टेम्पर ग्लास र १ पिस गम बरामद भएको प्रहरीले जनाएको छ ।
बुटवल उपमहानगरपालिका–७ दिपनगरबाट २ लाख ३१ हजार रुपैयाँ बराबरका १४२ पिस कुर्ता–सुरुवाल र २४ केजी दूध पाउडर बरामद गरिएको छ ।
त्यसैगरी, सिद्धार्थनगर नगरपालिका–१ बेलहियाबाट २ लाख ९७ हजार २ सय रुपैयाँ बराबरका विभिन्न सामान बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद सामानमा चकलेट, बिस्कुट, चकलेट टपिङ, सजावटका सामग्री, साडी, भाँडाकुँडा, औषधि, मिनी डेस्कटप कम्प्युटर, ब्याट्री, हार्डडिस्क, ल्यापटप, झिलिमिली बत्ती, हेडफोन, एडप्टर, एयरबड, मोबाइलका कभरलगायत छन् ।
प्रहरीले भन्सार छली तथा चोरी–पैठारी नियन्त्रणका लागि जिल्लाका विभिन्न नाकामा चेकजाँच तथा निगरानी बढाएको जनाएको छ । बरामद गरिएका सबै सामान आवश्यक कानुनी प्रक्रियाका लागि भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २०२६-०९-०८ , समय : १९:५४:१२ , १ घन्टा अगाडि