रुपन्देही खबर , ५० पटक हेरिएको
बुटवल, भदौ २९
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसियसनले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, तत्काल राहत तथा दीर्घकालीन पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ४० लाख १ रुपैयाँ सहयोग गरेको छ।
एशोसियसनले आइतबार बुटवलस्थित आफ्नै भवनमा पत्रकार सम्मेलन गरी एशोसियसनमा आबद्ध पेट्रोलियम व्यवसायीबाट संकलित रकममा संस्थाका तर्फबाट समेत रकम थप गरी राहत कोषमा जम्मा गरिएको जानकारी दिएको हो।
एशोसियसनका अध्यक्ष हिमाल गैरेले संस्थामा आबद्ध ७० जना व्यवसायीबाट सहयोग रकम संकलन गरिएको बताउनुभयो। उहाँका अनुसार व्यवसायी र संस्थाको योगदानबाट संकलित ४० लाख १ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा प्रदान गरिएको हो।
अध्यक्ष गैरेले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायतका क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्को समयमा सबै क्षेत्रबाट मानवीय सहयोगका हात अघि बढाउन आग्रह गर्नुभयो।
उहाँले पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसियसनअन्तर्गतका क्षेत्रमा पेट्रोलियम पदार्थको आपूर्ति तथा वितरणमा कुनै प्रकारको अवरोध नरहेको जानकारी दिनुभयो। विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै गए पनि पेट्रोलको बिक्रीमा उल्लेख्य उतारचढाव नआएको उहाँको भनाइ थियो।
कार्यक्रममा एशोसियसनका निवर्तमान अध्यक्ष प्रेम न्यौपानेले बाढी तथा पहिरोमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्नुभयो। उहाँले विपद्बाट प्रभावित नागरिकको पीडामा सबै नेपाली एकजुट भई सहयोग गर्नुपर्ने बताउनुभयो।
राहत कोषमा सहयोग गर्ने व्यवसायीमध्ये प्रेमराज गैरेले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ, भरतजङ्ग कुँवरले २ लाख ११ हजार १ सय ११ रुपैयाँ, मंगलप्रसाद मानन्धरले १ लाख ६४ हजार रुपैयाँ, हिमाल गैरेले १ लाख ५३ हजार रुपैयाँ, रियाज मोहम्मदले १ लाख ५१ हजार ५ सय रुपैयाँ र मोहम्मद अनिसले १ लाख ५१ हजार रुपैयाँ सहयोग गर्नुभएको एशोसियसनले जनाएको छ।
त्यस्तै रत्ना काउचाले १ लाख ११ हजार १ सय ११, रिखु जोशीले १ लाख १० हजार ५ सय ५५, यमप्रसाद पोखरेलले १ लाख ५ हजार ५ सय ५५, सन्तबहादुर पौडेलले १ लाख १ हजार ६ सय ९९, कमल थापाले १ लाख २ हजार, लोकप्रसाद भुसालले १ लाख १ हजार १ सय ११, नवराज भट्टराईले १ लाख १ हजार, सुनिल थापाले १ लाख ५ सय ८१ र इस्लाम खानले १ लाख रुपैयाँ सहयोग गर्नुभएको छ।
कार्यक्रम एशोसियसनका महासचिव डासीराम अधिकारीले सञ्चालन गर्नुभएको थियो।
प्रकाशित मिति: २०२६-०९-१४ , समय : १०:४४:३७ , १ घन्टा अगाडि