एकताबद्ध भई अगाडि बढ्न सबैलाई राष्ट्रपति पौडेलको आह्वान

रुपन्देही खबर , २२  पटक हेरिएको

काठमाडौँ, असोज ३

राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा देशको दिगो शान्ति, सुशासन र समृद्धिका लागि सबै नेपालीलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गर्नुभएको छ। संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामार्फत संविधानले परिकल्पना गरेको दिगो शान्ति, सुशासन र समृद्धिको आकाङ्क्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको हो।

उहाँले नेपालको संविधानले बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक विशेषतालाई समान संरक्षण प्रदान गरेको उल्लेख गर्दै नेपालीबीचको आपसी सद्भाव, भ्रातृत्व र सहअस्तित्वमा आँच आउने कुनै पनि गतिविधि नहुने विश्वास व्यक्त गर्नुभएको छ।

राष्ट्रपति पौडेलले रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिले सिङ्गो देश गहिरो पीडामा रहेको बताउनुभएको छ। विपद्को यस कठिन घडीमा बाढी प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि राज्यका सबै निकाय, राजनीतिक दल, सङ्घसंस्था र आम नागरिकलाई एकताबद्ध भएर अघि बढ्न उहाँले आह्वान गर्नुभएको हो।

संविधान दिवसले संविधानको मर्म र भावनाअनुसार राष्ट्रिय एकता, सामाजिक सद्भाव तथा सहकार्यलाई थप मजबुत बनाउँदै मुलुकको विकास र समृद्धिका लागि साझा प्रयास गर्ने प्रेरणा प्रदान गरोस् भन्ने राष्ट्रपतिको शुभकामना सन्देशमा उल्लेख छ।

संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, राष्ट्रिय सभा अध्यक्ष तथा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले पनि शुभकामना व्यक्त गर्नुभएको छ।

प्रकाशित मिति: २०२६-०९-१९ , समय : ०९:५४:०३ , २ घन्टा अगाडि