चाडपर्वमा पेट्रोलियमको मूल्य नबढेसम्म यातायात भाडा नबढ्ने

रुपन्देही खबर , ३३  पटक हेरिएको

काठमाडौँ,  असोज ६

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थको मूल्य वृद्धि नभएसम्म चाडपर्वका बेला सार्वजनिक यातायातको भाडा नबढाउने स्पष्ट पारेको छ। यातायात व्यवस्था विभागले चाडपर्वलाई लक्षित गरी आयोजना गरेको छलफलमा महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले सरकारले पेट्रोलियम पदार्थको मूल्य नबढाएसम्म सार्वजनिक यातायातमा सरकारले तोकेको भाडादर नै कायम रहने बताउनुभएको हो।

अध्यक्ष सिटौलाले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढे पनि नेपालमा चाडपर्वकै समयमा त्यसको भार यात्रुमाथि पार्न नहुने धारणा राख्नुभयो। उहाँका अनुसार सरकारले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेसम्म व्यवसायीले तोकिएको भाडाभन्दा बढी असुल्ने अवस्था नरहनेछ।

तर सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएमा त्यसको प्रत्यक्ष प्रभाव यातायात सञ्चालन खर्चमा पर्ने भएकाले व्यवसायीलाई भाडा समायोजन गर्नुपर्ने अवस्था आउन सक्ने उहाँले बताउनुभयो।

चाडपर्वका समयमा यात्रुको चाप बढ्ने र टिकट तथा भाडामा अनियमितता हुन सक्ने भन्दै अध्यक्ष सिटौलाले यात्रुलाई आधिकारिक टिकट काउन्टरबाट मात्रै टिकट लिन आग्रह गर्नुभयो। तोकिएकोभन्दा बढी भाडा असुली हुन नदिन व्यवसायी र सम्बन्धित निकाय दुवैले जिम्मेवार भएर काम गर्नुपर्ने उहाँको भनाइ थियो।

दसैँ, तिहारलगायतका चाडपर्वमा देशभर सार्वजनिक यातायातमा यात्रुको चाप बढ्ने भएकाले भाडा, टिकट तथा यात्रु व्यवस्थापनलाई व्यवस्थित बनाउन यातायात व्यवस्था विभागले सरोकारवालासँग छलफल गरेको हो।

प्रकाशित मिति: २०२६-०९-२२ , समय : ०९:१५:०५ , २ घन्टा अगाडि