मिथिला संस्कृति संरक्षणसँगै सामाजिक–आर्थिक विकासमा जोड

रुपन्देही खबर , ५३  पटक हेरिएको

भैरहवा, असोज ११

मिथिला संस्कृति, परम्परा र मौलिकताको संरक्षणसँगै सामाजिक तथा आर्थिक विकासमा जोड दिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। मिथिलाञ्चल समाज रुपन्देहीको आयोजना तथा मिथिलाञ्चल महिला समाज रुपन्देहीको सहआयोजनामा ‘मिथिला संस्कृति संरक्षण आ विकास, शान्त समृद्ध आ समतामूलक राष्ट्रके निर्माण’ भन्ने मूल नाराका साथ शनिबार भैरहवामा आयोजित जितिया पावैन कार्यक्रममा सहभागी वक्ताहरूले संस्कृति संरक्षणसँगै समाजको समग्र विकासमा ध्यान दिनुपर्ने बताएका हुन्।

कार्यक्रमकी प्रमुख अतिथि ओमसतिया गाउँपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत रुपा थापा रावतले मिथिला क्षेत्रका चाडपर्व, रीति, परम्परा र धार्मिक अनुष्ठानको आफ्नै मौलिकता रहेको बताउनुभयो। उहाँले मिथिला समुदायका महिलाले सन्तान तथा परिवारको सुख, शान्ति, समृद्धि र दीर्घायुको कामना गर्दै विभिन्न धार्मिक अनुष्ठान गर्दै आएको बताउनु भयो ।

रावतले जितिया, छठलगायतका पर्वले धार्मिक आस्थासँगै मिथिला समुदायको मौलिक संस्कृति, परम्परा र सामाजिक सम्बन्धलाई निरन्तरता दिँदै आएको बताउनुभयो। नयाँ पुस्तालाई मिथिलाको संस्कृति र परम्पराबारे जानकारी गराउँदै यसको संरक्षण तथा विकासमा सबैको भूमिका आवश्यक रहेको उहाँको भनाइ थियो।

मिथिलाञ्चल समाज रुपन्देहीका अध्यक्ष अमरकान्त झाले संस्कृति र परम्पराको संरक्षणसँगै विज्ञान, विकास र आर्थिक समृद्धिलाई पनि अघि बढाउनुपर्ने बताउनुभयो। समाजलाई एकताबद्ध गर्दै विकासको यात्रामा अघि बढाउन सबै वर्ग र समुदायको सहभागिता आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो।

जितिया पर्वमा महिला, छात्रछात्रा तथा युवाको उत्साहपूर्ण सहभागिता देखिनु सकारात्मक भएको बताउँदै झाले सामाजिक रूपान्तरणमा महिला सहभागिता र नारी शक्तिको महत्वपूर्ण भूमिका रहेको धारणा राख्नुभयो। उहाँले सांस्कृतिक कार्यक्रममार्फत नयाँ पुस्तालाई मौलिक परम्परासँग जोड्न सकिने बताउनुभयो।

कार्यक्रममा मिथिलाञ्चल महिला समाज रुपन्देहीका कोषाध्यक्ष मृतुल झाको स्वागत मन्तव्य रहेको कार्यक्रममा मिथिलाञ्चल समाज बुटवलका अध्यक्ष उदय सिंह, मिथिलाञ्चल महिला समाज रुपन्देहीका सचिव मेनका शाह, मिथिलाञ्चल समाज बुटवलकी पूर्वअध्यक्ष अमृता झा, नेपाल वैश्य युवा संघ रुपन्देहीका अध्यक्ष तारकेश्वर कान्दु, लक्ष्मी महासेठ, मिथिलाञ्चल महिला समाज रुपन्देहीका अध्यक्ष बिना शाह
लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो भने मिथिलाञ्चल महिला समाज रुपन्देहीका सचिव उषा पाठकले कार्यक्रम संचालन गर्नु भएको थियो।

जितिया पावैनका अवसरमा आयोजित कार्यक्रममा मिथिला समुदायको धार्मिक तथा सांस्कृतिक परम्परा झल्किने सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो। कार्यक्रममा महिला, युवायुवती तथा समुदायका विभिन्न व्यक्तिको सहभागिता रहेको आयोजकले जनाएको छ।

प्रकाशित मिति: २०२६-०९-२७ , समय : १२:०७:३४ , २ घन्टा अगाडि