उर्मिला यादव यात्री , ४९ पटक हेरिएको
भैरहवा, असोज १९
विभिन्न समयका आन्दोलन, प्राकृतिक विपद् र कोरोना महामारीका कारण प्रभावित हुँदै आएको रुपन्देहीको व्यवसाय क्षेत्रलाई चलायमान बनाउने उद्देश्यले भैरहवामा ‘सिद्धार्थ सडक खाना महोत्सव–२०८३ आयोजना हुने भएको छ। चेम्बर अफ कमर्स, रुपन्देहीले दशैं–तिहार तथा विश्व पर्यटन दिवसको अवसर पारेर यहि असोज २४ र २५ गते महोत्सव आयोजना गर्न लागेको हो। महोत्सव भैरहवाको बसपार्कदेखि देवकोटा चोकसम्म साँझ ५ बजेदेखि राति १२ बजेसम्म सञ्चालन हुनेछ।
चेम्बर अफ कमर्स, रुपन्देहीका अध्यक्ष सचिन रोकाले पछिल्लो समय उद्योगी तथा व्यवसायीले एकपछि अर्को संकटको सामना गर्दै आएको बताउँदै बजार तथा आर्थिक गतिविधिलाई चलायमान बनाउन महोत्सव आयोजना गर्न लागिएको बताउनुभयो। उहाँका अनुसार मधेस आन्दोलन, भूकम्प, कोरोना महामारीलगायतका कारण व्यवसाय क्षेत्र पटक–पटक प्रभावित भएको छ। एउटा संकटबाट व्यवसायलाई उठाउने प्रयास भइरहेका बेला अर्को समस्या आउने गरे पनि व्यवसायीले पुनः आफ्नो क्षेत्रलाई चलायमान बनाउँदै आएको उहाँले बताउनुभयो।
‘समस्याले जहिले पनि हामीलाई सुताइरहन्छ। कहिले मधेस आन्दोलन, कहिले भूकम्प, कहिले कोरोना त कहिले अन्य संकटले उद्योगी–व्यवसायीलाई प्रभावित बनाउँदै आएको छ,’ अध्यक्ष रोकाले भन्नुभयो, ‘तर हरेक पटक हामी व्यवसायलाई फेरि उठाउनुपर्छ भन्ने उद्देश्यले अघि बढिरहेका छौँ।’
उहाँले चेम्बरले व्यवसाय तथा आर्थिक गतिविधि बढाउने उद्देश्यले समय–समयमा मेला, प्रदर्शनी र सडक खाना महोत्सव आयोजना गर्दै आएको बताउनुभयो। यसपटकको महोत्सवलाई पर्यटन प्रवर्द्धन र स्थानीय आर्थिक गतिविधि विस्तारसँग जोडिएको उहाँको भनाइ छ।
अध्यक्ष रोकाले सिद्धार्थनगरलाई पर्यटकको आवतजावत गर्ने स्थानमा मात्र सीमित नराखी बस्ने, खाने, घुम्ने र खर्च गर्ने गन्तव्यका रूपमा विकास गर्नुपर्ने बताउनुभयो। भारतसँग जोडिएको बेलहिया नाका, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा लुम्बिनी आसपासका धार्मिक, सांस्कृतिक र प्राकृतिक गन्तव्यका कारण यस क्षेत्रमा पर्यटनको पर्याप्त सम्भावना रहेको उहाँले उल्लेख गर्नुभयो। ‘सिद्धार्थनगर आर्थिक रूपमा चलायमान भए समग्र रुपन्देहीको आर्थिक गतिविधिलाई पनि गति दिन सकिन्छ,’ उहाँले भन्नुभयो।
महोत्सवमा करिब एक सय स्टल रहने आयोजकले जनाएको छ। स्थानीय व्यवसायी, उद्यमी, होटल तथा रेस्टुरेन्ट व्यवसायी, पर्यटन व्यवसायी तथा विभिन्न समुदायका परम्परागत र जातीय खानाका परिकार स्टलमा राखिनेछन्। दुई दिनमा करिब ५० हजार दर्शक तथा उपभोक्ता सहभागी हुने आयोजकको अपेक्षा छ।
महोत्सवका कार्यक्रम संयोजक विनोद खरेलले बजार तथा व्यवसायलाई चलायमान बनाउनुका साथै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताउनुभयो। महोत्सवमा दुर्गेश थापा, प्रिती पासवान लगायत राष्ट्रिय तथा स्थानीय कलाकारको सांगीतिक प्रस्तुति रहने उहाँले जानकारी दिनुभयो।
स्थानीय प्रतिभालाई समेत अवसर दिइने बताउँदै खरेलले स्थानीय तथा जातीय परिकार, सांस्कृतिक कार्यक्रम र सांगीतिक प्रस्तुतिमार्फत महोत्सवलाई मनोरञ्जन तथा पर्यटन प्रवर्द्धनसँग जोड्न खोजिएको बताउनुभयो। उहाँका अनुसार महोत्सवले सिद्धार्थनगरलाई पर्यटकीय गन्तव्यका रूपमा प्रवर्द्धन गर्नसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यसैगरी महोत्सवका सुरक्षा उपसमिति संयोजक राममिलन यादवले महोत्सवलाई सुरक्षित, व्यवस्थित र मर्यादित रूपमा सम्पन्न गर्न आवश्यक सुरक्षा तयारी भइरहेको बताउनुभयो। ठूलो संख्यामा दर्शक सहभागी हुने अपेक्षा गरिएकाले भीड व्यवस्थापन, सवारी आवागमन, पार्किङ र सुरक्षा निगरानीलाई प्राथमिकतामा राखिएको उहाँले जानकारी दिनुभयो।
आयोजकका अनुसार महोत्सव अवधिभर आयोजक, सुरक्षा निकाय र सम्बन्धित पक्षबीच समन्वय गरी आवश्यक सुरक्षा व्यवस्था मिलाइनेछ। स्थानीय खानाका परिकार, सांस्कृतिक कार्यक्रम, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति र पर्यटन प्रवर्द्धनलाई एकै ठाउँमा जोडेर महोत्सव आयोजना गर्न लागिएको चेम्बर अफ कमर्स, रुपन्देहीले जनाएको छ।
प्रकाशित मिति: २०२६-१०-०५ , समय : २०:०९:४७ , २ घन्टा अगाडि