रुपन्देहीमा पाँच लाखका पटाका सहित चार जना पक्राउ

रुपन्देही खबर , ४२  पटक हेरिएको

भैरहवा, असोज २४

रुपन्देहीको सैनामैनाबाट करिब पाँच लाख रुपैयाँ मूल्यका विभिन्न प्रकारका पटाकासहित चार जना पक्राउ परेका छन्। प्रहरीले असोज २२ गते दिउँसो सैनामैना नगरपालिका–४, रन्यौराबाट पटाका बोकेको पिकअप जिपसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा बा २१ च २२४९ नम्बरको पिकअप जिप रोकेर जाँच गर्ने क्रममा नौ बोरामा राखिएका विभिन्न प्रकारका पटाका फेला पारेको थियो। प्रहरीले पटाका र ओसारपसारमा प्रयोग गरिएको जिप बरामद गरेको जनाएको छ।

पक्राउ पर्नेमा रुपन्देहीको कोटहीमाई गाउँपालिका–५ का २५ वर्षीय धर्मराज यादव र १८ वर्षीय सुशील यादव तथा सम्मरीमाई गाउँपालिका–७ का ३२ वर्षीय अक्लेश मौर्य र १९ वर्षीय सन्तोष कुर्मी रहेका छन्। धर्मराज यादव पिकअप चालक हुन्।

प्रहरीका अनुसार बरामद पटाकाको अनुमानित मूल्य पाँच लाख रुपैयाँ रहेको छ। पटाका कहाँबाट ल्याइएको थियो र कहाँ लैजाँदै गरिएको थियो भन्ने विवरण प्रहरीले सार्वजनिक गरेको छैन। पक्राउ परेका चारै जनामाथि विस्फोटक पदार्थ ऐनअनुसार थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०२६-१०-१० , समय : १०:२०:०२ , २ घन्टा अगाडि