देशका विभिन्न स्थानबाट लागूऔषधसहित १७ जना पक्राउ

रुपन्देही खबर , ५३  पटक हेरिएको

काठमाडौं, असोज २७

देशका विभिन्न जिल्लामा प्रहरीले सञ्चालन गरेको चेकजाँच तथा निगरानीका क्रममा अवैध लागूऔषधसहित १७ जनालाई पक्राउ गरेको छ। काठमाडौं, कञ्चनपुर, झापा, सिराहा, दाङ, मकवानपुर र तनहुँमा सोमबार तथा मंगलबार गरिएको कारबाहीका क्रममा ब्राउनसुगर, खैरो हेरोइन र विभिन्न प्रकारका नियन्त्रित लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीबाट ब्राउनसुगरजस्तो देखिने ५१० मिलिग्राम पदार्थसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका–३ घर भई हाल जोरपाटी बस्ने ३८ वर्षीय कृष्णबहादुर विश्वकर्मा र काभ्रेको तेमाल गाउँपालिका–३ घर भई काठमाडौं महानगरपालिका–६ तिनचुली बस्ने २९ वर्षीय बिसाल तामाङ रहेका छन्। प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

त्यस्तै, गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलबाट ट्रामाडोलका २०७ ट्याब्लेटसहित २१ वर्षीय बिकेश नेपाली पक्राउ परेका छन्। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ घर भई गोकर्णेश्वर नगरपालिका–८ माकलबारी बस्ने नेपालीलाई प्रहरी प्रभाग गोकर्णबाट खटिएको टोलीले मंगलबार बिहान पक्राउ गरेको प्रहरीले जनाएको छ।

कञ्चनपुरको बेदकोट नगरपालिका–१० बाट खैरो हेरोइन १४ ग्राम ६९० मिलिग्राम र नगद २० हजार ५०० रुपैयाँसहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बेदकोट नगरपालिका–६ का ३२ वर्षीय उद्वव साहु, ३२ वर्षीय महेन्द्र चन्द र वडा नम्बर ३ का ३० वर्षीय मुकेश मल्ल रहेका छन्। लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

झापाको मेचीनगर नगरपालिका–६ बाट खैरो हेरोइनजस्तो देखिने २६ ग्राम १७० मिलिग्राम पदार्थसहित २७ वर्षीय अनिश माझी पक्राउ परेका छन्। अर्जुनधारा नगरपालिका–११ अठारघरे कालिझोडा बस्ने माझीलाई लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकरभिट्टासमेतबाट खटिएको टोलीले सोमबार राति पक्राउ गरेको प्रहरीले जनाएको छ।

यसैगरी, सिराहाको गोलबजार नगरपालिका–१ बैरीबाणबाट खैरो हेरोइनजस्तो देखिने चार ग्राम पदार्थसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका–१३ का १९ वर्षीय सुरज यादव र १९ वर्षीय श्यामबाबु कुमार यादव रहेका छन्। कसाहातर्फ जाँदै गरेको स.६ प ७३३७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजारबाट खटिएको प्रहरीले सोमबार साँझ पक्राउ गरेको हो।

दाङको घोराही उपमहानगरपालिका–९ चैनपुरमा २३ वर्षीय सुरेन्द्रबहादुर घर्ती मगरसहित दुई जना पक्राउ परेका छन्। उनीहरूको साथबाट ब्राउनसुगरजस्तो देखिने ३७ ग्राम २३० मिलिग्राम पदार्थ र नगद ७९ हजार ५०० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय दाङसमेतबाट खटिएको टोलीले सुरेन्द्रको घर तलासी गर्ने क्रममा उक्त पदार्थ र नगद फेला पारेपछि दुवै जनालाई पक्राउ गरेको हो।

दाङकै राप्ती गाउँपालिका–१ पुलचोकबाट ब्राउनसुगरजस्तो देखिने एक ग्राम ७९० मिलिग्राम पदार्थसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सोही गाउँपालिका–१ का २० वर्षीय सुजल थापा र २२ वर्षीय शिवबहादुर पुन मगर रहेका छन्। प्रहरीले उनीहरूलाई सोमबार राति पक्राउ गरेको जनाएको छ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१७ स्कुलचोकबाट खैरो हेरोइनजस्तो देखिने ५४० मिलिग्राम पदार्थसहित २७ वर्षीय कपिल घर्ती पक्राउ परेका छन्। सोही स्थानका घर्तीलाई अस्थायी प्रहरी पोस्ट हटियाबाट खटिएको टोलीले सोमबार साँझ नियन्त्रणमा लिएको हो।

त्यसैगरी, तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट नियन्त्रित लागूऔषध नाइट्राजेपामका ५७० ट्याब्लेटसहित ४० वर्षीय गणेश बास्फोर पक्राउ परेका छन्। पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१२ बस्ने बास्फोर मुग्लिनबाट आँबुखैरेनीतर्फ आउँदै गरेको लु.२ ख ६५१५ नम्बरको बसमा सवार थिए। गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरासमेतबाट खटिएको टोलीले सोमबार दिउँसो बस जाँच गर्ने क्रममा उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो। प्रहरीले पक्राउ परेका व्यक्तिहरू तथा बरामद लागूऔषधका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित मिति: २०२६-१०-१३ , समय : १९:०१:३४ , १ घन्टा अगाडि