रुपन्देही खबर , ५५ पटक हेरिएको
लुम्बिनी ,कार्तिक १९
रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ४ अमारीमा कृषकहरूलाई ५० प्रतिशत अनुदानमा पेट्रोल होण्डा मेसिन तथा विभिन्न कृषि सामग्री वितरण गरिएको छ। वडा कार्यालयको स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत कृषकहरूको कृषि उत्पादन तथा आयआर्जन वृद्धि गर्ने उद्देश्यले उक्त सामग्री वितरण गरिएको हो।

वडा अध्यक्ष बिनोद कुमार श्रीवास्तवले कृषकहरूलाई आधुनिक कृषि प्रविधिसँग जोड्ने र कृषि कार्यलाई सहज बनाउने उद्देश्यले अनुदानमा कृषि सामग्री उपलब्ध गराइएको बताउनुभयो।
उहाँले कृषि क्षेत्रको विकास र कृषकको आर्थिक अवस्था सुधारका लागि स्थानीय तहले प्राथमिकताका साथ कार्यक्रम सञ्चालन गर्नुपर्ने उल्लेख गर्दै भन्नुभयो, “कृषकहरूको श्रम र उत्पादन लागत घटाउँदै कृषि उत्पादन वृद्धि गर्न आधुनिक कृषि उपकरणको आवश्यकता छ। किसानलाई प्रविधिमैत्री खेती प्रणालीतर्फ प्रोत्साहित गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा कृषि मेसिन तथा सामग्री वितरण गरेका हौँ। आगामी दिनमा पनि कृषकको आवश्यकता र मागअनुसार कृषि क्षेत्रका कार्यक्रमलाई निरन्तरता दिनेछौँ।”
अनुदानमा कृषि उपकरण उपलब्ध भएपछि कृषि कार्यमा सहजता आउने र उत्पादन वृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
वडा कार्यालयले सञ्चालन गरेको यस कार्यक्रमले स्थानीय कृषकलाई आधुनिक कृषि प्रविधिको प्रयोगतर्फ प्रोत्साहित गर्नुका साथै कृषि व्यवसायलाई व्यावसायिक र उत्पादनमुखी बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ।
प्रकाशित मिति: २०२६-११-०५ , समय : २०:४०:०२ , ४० मिनेटutes अगाडि