रुपन्देही खबर , ६२० पटक हेरिएको
काठमाडौं, माघ ४
निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि सुरक्षा व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । निर्वाचन आयुक्त सगुनशमशेर जबराको अध्यक्षतामा मंगलबार बसेको बैठकले गरेको निर्णयअनुसार बुधबार आयोगले गृह मन्त्रालयलाई पत्र पठाउँदै राष्ट्रिय सभा निर्वाचनका लागि सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएको हो। आयोगका सहायक प्रवक्ता श्रीधर पन्थीले मतदाता, उम्मेदवार, निर्वाचन अधिकृतको कार्यालय, निर्वाचनमा खटिएका कर्मचारी, निर्वाचन सामग्री, मतदान स्थल लगायत निर्वाचनमा हुनसक्ने सम्भावित सुरक्षा चुनौतीहरूलाई मध्यनजर गर्दै भयरहित वातावरणमा निर्वाचन गराउनका लागि सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएको हो।
आयोगले राष्ट्रिय सभा निर्वाचन हुने सात प्रदेशका सात जिल्लाहरू मोरङ, धनुषा, मकवानपुर, कास्की, दाङ, सुर्खेत र कैलाली जिल्ला प्रशासन कार्यालयहरूलाई निर्वाचन सुरक्षा व्यवस्था निर्देशिका २०७८ को दफा ५ बमोजिम गठित जिल्ला निर्वाचन सुरक्षा समितिलाई क्रियाशील तुल्याउन निर्वाचन सुरक्षा व्यवस्थालाई प्रभावकारी एवम भरपर्दाे बनाउन निर्देशन दिने निर्णय भएको पन्थीले जानकारी दिनु भएको छ ।
माघ ११ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ । राष्ट्रिय सभा निर्वाचनमा आठ राजनीतिक दलका ५१ जना उम्मेदवार मैदानमा छन्। उक्त निर्वाचनका लागि यही पुस २३ गते उम्मेदवारी मनोनयनपत्र दर्ता भएको थियो । आयोगका अनुसार कोशी प्रदेशमा पाँच, मधेस प्रदेशमा पाँच, बागमती प्रदेशमा १५, गण्डकीमा आठ र लुम्बिनी प्रदेशमा छ जना उम्मेदवार छन । कर्णाली प्रदेशमा र सुदूरपश्चिम प्रदेशमा छ र छ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ।
सातै प्रदेशमा महिला समूहतर्फ १८, दलित समूहतर्फ पाँच, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायतर्फ आठ र अन्य समूहतर्फ २० गरी जम्मा ५१ जना उम्मेदवार छन ।
प्रकाशित मिति: २०२४-०१-१८ , समय : ०८:४५:५४ , ११ महिना अगाडि