सियारीमा अपांगता भएका व्यक्तिलाई व्हीलचेयर,ट्राइसाइकल र बैशाखी वितरण

रुपन्देही खबर , १०८  पटक हेरिएको

भैरहवा, माघ ८

रुपन्देहीको सियारी गाउँपालिकाले अपांगता भएका व्यक्तिलाई सहायता सामग्री व्हीलचेयर, ट्राइसाइकल,बैशाखी वितरण गरेको छ । गाउँपालिका उपाध्यक्ष तारा थारुको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेको प्रमुख आतिथ्यतामा पालिका भित्रका ११ जना अपांगता भएका व्यक्तिलाई आइतबार व्हीलचेयर, ट्राइ साइकल र बैशाखी वितरण गरिएको हो । पालिकामा आएका १४ जनाको निवेदनमध्ये ११ जनालाई ट्राई साईकल, ह्वील चियर र वैशाखी वितरण गरिएको हो भने बाँकी रहेका ३ जना उपस्थित नभएका कारण प्रदान नगरिएको र आवश्यकताको आधारमा पछि प्रदान गरिने पालिकाले जनाएको छ ।

गाउँपालिकाले आर्थिक र शारीरिक अवस्था कमजोर भएका व्यक्तिहरु पनि सहज रुपमा हिंडडुल गर्न सकुन भन्ने उद्देश्यले सहायता सामग्री प्रदान गरिएको गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिनु भएको छ । गाउँपालिकाले महिला विकास शाखामार्फत ९ वटा ट्राई साईकल र १÷१ वटा ह्वील चेयर र वैशाखी प्रदान गरेको हो ।

गाउँपालिका अध्यक्ष घिमिरेसहित उपाध्यक्ष तारा थारु, प्रमुख प्रशासकीय अधिकृत ऋषिराम पन्थी लगायतको सहभागितामा सहायता सामग्री वितरण गरीएको हो । पालिकाले गत वर्ष पनि अपांगता भएका व्यक्तिलाई सहायता सामग्रीवापत ७ वटा ह्वील चियर र एउटा वैशाखी वितरण गरेको महिला विकास शाखा इञ्चार्ज लक्ष्मी कार्कीले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति: २०२४-०१-२२ , समय : ०९:३१:२२ , ३ महिना अगाडि