सिद्धार्थनगरमा गौशाला र शव दाहसंस्कार घाटको निर्माण कार्य सुरु

रुपन्देही खबर , २९२  पटक हेरिएको

भैरहवा, फागुन ३०

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा गौशाला र शव दाहसंस्कार घाटको लागि निर्माण कार्य सुरु गरिएको छ ।सिद्धार्थनगर नगरपालिको वडा नंम्बर ११ पिपरहिया स्थित गौशाला र शव दाहसंस्कार घाटको लागि निर्माण कार्य सुरु गरिएको हो ।

गौशाला र शव दाहसंस्कार घाटका लागि आवश्यक पूर्वाधार पर्खाल निर्माणको सोमबार नगर प्रमुख इश्तियाक अहमद खाँले शिलान्यास गर्नु भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी नगर प्रमुख खाँले नगरमा छाडा चौपाया (गाईगोरु)का कारण देखिएको समस्या अस्थाई रुपमा समाधान गर्दै लगिए पनि दिर्घकालीन समाधान र व्यवस्थापनका लागि गौशालाको निर्माण कार्य सुरु गरिएको बताउनु भएको छ ।

करिब ३८ करोड लागत अनुमानमा चार विघा क्षेत्रफलमा योजनाको सुरुवात भएको उहाले जानकारी दिनु भएको छ । उहाका अनुसार उक्त गौशाला र सम्सानघाट निर्माणको योजना अन्तर्गत हरियाली, छठ घाट, पार्किङ्ग, फाउन्टेन, चिल्ड्रेन पार्क लगायतका संरचनाहरु निर्माण हुनेछन् ।

उहाले पर्यटकहरुलाई आर्कषित गर्नका लागि सोही अनुरुप संरचनाहरु बनाईने बताउनु भएको छ । नगरको विकासमा सुरु भएको योजनाले टेवा पुर्याउने उहाको भनाई छ ।

सिद्धार्थनगर नगरपालिका वडा नं. ११ का वडाअध्यक्ष दिलिप कुमार यादवले योजनाले वडाको विकासमा टेवा पुर्याउने भन्दै वडाको मुहार फेरिनेमा आफु विश्वस्त रहेको बताउनु भएको छ । उहाले विमानस्थल छेउको सडकलाई योजना संचालित स्थानसम्म जोड्ने योजना पनि रहेको बताउनु भएको छ ।

नगरपलिकाको वडा नं. ११ का वडाअध्यक्ष दिलिप कुमार यादवको अध्यक्षता र योजना शाखाका अधिकृत योगराज पन्थीको संचालनमा सम्पन्न भएको कार्यक्रममा वडा नं. २ का वडाअध्यक्ष छेदीलाल श्रीवास्तव, ३ का नारायण प्रसाद उपाध्याय, ४ का मुक्तिनाथ यादव, ५ का पुरनप्रसाद श्रेष्ठ, ६ का विरेन्द्र श्रीवास्तव, ७ का दामोदर शर्मा घिमिरे, आर्थिक प्रशासन अधिकृत ओमश कुमार गैरे, योजना प्रमुख साकार श्रेष्ठ, नगरपालिकाका इन्जिनियर, स्थानीयवासीहरु लगायतको सहभागीता रहेको थियो ।

प्रकाशित मिति: २०२४-०३-१३ , समय : १०:३५:५८ , २ महिना अगाडि