सिद्धार्थनगरमा महिलाहरुको पाठेघर स्क्रिनिंग शिबिर संचालन, १०९ जनाले लिए सेवा

उर्मिला यादव यात्री , ८६५  पटक हेरिएको

भैरहवा, चैत्र ६

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले मंगलबारदेखी महिलाहरुको पाठेघर स्क्रिनिंग शिबिर संचालन गरेको छ । सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ कार्यालय आधारभुत स्वास्थ्य केन्द्र हाटबजारमा मंगलबार महिलाहरुको पाठेघर स्क्रिनिंग शिबिर संचालन भएको हो । सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष पुरन प्रसाद श्रेष्ठको अध्यक्षता तथा नगरप्रमुख इश्तियाक अहमद खानको प्रमुख आतिथ्यतामा शिबिर संचालन गरिएको हो ।

शिबिरको उदघाटन गर्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख खानले नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर स्वास्थ्य शिविर सञ्चालन गरी उपचार सेवा प्रदान गरिएको बताउनु भएको छ । उहाले स्वास्थ्य परीक्षणका क्रममा समस्या देखिए निशुल्क स्वास्थ्य उपचार गरिने भएकोले स्वास्थ्य सेवा लिन नगरबासीलाई आग्रह गर्नु भएको छ ।

यस्तै गरी सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष पुरन प्रसाद श्रेष्ठले महिलाहरुको पाठेघरको मुखको क्यान्सर, आंग खस्ने समस्या, प्रजनन रुणता लगायत समस्याहरुको परीक्षण गरिएको बताउनु भएको छ । दुइ जना स्त्री रोग बिशेषज्ञ डाक्टर द्धारा परीक्षण गरिएको शिबिरमा पहिलो दिन १०९ जना महिलाहरुको पाठेघरको मुखको क्यान्सर परीक्षण गरिएको छ । जसमा २९ जनामा पोजिटिभ देखिएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिनु भयो । परीक्षण गरिएका महिलाहरु मध्ये २६ प्रतिशत महिलाहरुमा पाठेघरको संक्रमण समस्या भेटिएको छ ।


यस्तै गरी सिद्धार्थनगर नगरपालिकाको १३ वटै वडालाई समेटने गरी शिबिर संचालन गरिएको सिद्धार्थनगर नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख गिता न्यौपानेले बताउनु भएको छ । उहाले पहिलो दिन सिनपा वडा नम्बर ५ मा रहेको आधारभुत स्वास्थ्य केन्द्र हाटबजार , दोस्रो दिन चैत्र ७ गते बुधबार नगर स्वास्थ्य केन्द्र १० शंकरपुर र चैत ८ गते बिहीबार वडा कार्यालय वडा नम्बर ६ पिपरहियामा शिबिर संचालन गरिने बताउनु भएको छ । उहाले समस्या भएका बिरामीहरुको थप उपचारका लागी भिम अस्पताल भैरहवामा रिफर गरिने बताउनु भएको छ । भने जटिल समस्या देखिएका महिलाहरुको निशुल्क उपचार गरिने समेत जानकारी दिनु भएको छ ।

प्रकाशित मिति: २०२४-०३-१९ , समय : २२:१५:४३ , २ महिना अगाडि