सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ मा सेनेटरी प्याड बनाउने तालिम सम्पन्न

उर्मिला यादव यात्री , ३५२  पटक हेरिएको

भैरहवा, जेठ २०

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ मा संचालित ७ दिने सेनेटरी प्याड सम्बन्धी तालिमको शनिबार एक कार्यक्रमका बिच समापन गरिएको छ । किशोरी तथा महिलाहरुको स्वास्थ्य प्रति बिशेष ध्यान दिदै जेठ १३ गते देखि १९ गते सम्म भैरहवामा संचालन भएको तालिमको समापन सिनपा वडा नम्बर ५ का वडाध्यक्ष पुरन प्रसाद श्रेष्ठको अध्यक्षता तथा कालिभक्ती गण ई भैरहवाका गणपति प्रमुख सेनानी सुवाकर खडकाको प्रमुख आतिथ्यतामा गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी कालिभक्ती गण भैरहवाका गणपति प्रमुख खडकाले तालिममा सहभागी भएका किशोरी तथा महिलाहरुले आफुले सिकेका कुराहरु ब्यवहारमा उर्तान आग्रह गर्नु भएको छ । उहाले सिप सिकेर स्वरोजगार बन्न सके मात्र तालिमको प्रभावकारिता हुने बिश्वास ब्यक्त गर्नु भएको छ । उहाले तालिममा सिकेका कुराहरुलाई ब्यवसायिक रुपमा लैजान नसके पनि आफनो लागी बनाउन सकेपनि ठुलो उपलब्धी हुने बताउनु भयो । उहाले सिकेको सीप फुर्सदको समयमा पनि बनाउन आग्रह गर्दै सानो सानो कुराले नै स्वास्थ्यमा पछि गएर ठुलो प्रभाव पार्ने भएकोले आफनो स्वास्थ्यमा बिशेष ख्याल गर्न आग्रह गर्नु भएको छ ।

कार्यक्रममा सिनपा वडा नम्बर ५ का अध्यक्ष पुरन प्रसाद श्रेष्ठले कार्यक्रमको उदेश्यमाथि प्रकाश पार्दै तालिमबाट सिकेका ज्ञान सिप र कलालाई आफुमा मात्र सिमीत नराखी अरुमा पनि सिकाइ मार्फत हस्तान्तरण गर्न आग्रह गर्नु भएको छ । उहाले तालिममा सिकेका कुराहरुलाई निरन्तरता दिन आग्रह गर्दै उत्पादित बस्तुहरुको बजारीकरणमा वडा नम्बर ५ ले सहयोग गर्ने प्रतिबद्धता गर्नु भएको छ । उहाले उत्पादन गरेका सामानहरु कोसेली घरमा राखेर बिक्रिबितरण गर्न सकिने बताउनु भएको छ । अध्यक्ष श्रेष्ठले यो तालिमबाट महिलाहरु आत्मनिर्भर बन्न र आर्थिक उपार्जनमा महिलाहरुलाई सहजता प्रदान गर्नका लागी वडा नम्बर ५ ले बिभिन्न किसिमका सिप मुलक तालिमहरु संचालन गर्दै आएको बताउनु भएको छ । उहाले सीप भएर पनि महिलाहरु अगाडी आउन नसक्दा नै महिलाहरु पछि परेको उल्लेख गर्नु भयो । उहाले आगामी दिनहरुमा पनि वडा नम्बर ५ ले बिभिन्न किसिमका सीपमुलक तालिमहरु संचालन गर्ने समेत जानकारी दिनु भएको छ ।

यस्तै गरी कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष सोमबहादुर गुरुंगले सिद्धार्थनगर नगरपालिकाले हरेक वडामा महिलाहरुलाई बिभिन्न किसीमका तालिमहरु प्रदान गरी आत्मनिर्भर बनाउने लक्ष्यका साथ काम गर्दै आएको बताउनु भएको छ । उहाले सिनपा वडा नम्बर ५ र १३ ले महिलाहरुको क्षमता बृद्धि गरी जिबिकोपार्जन संग जोडनका लागी यस्ता किसिमका तालिमहरु प्रदान गर्दै आएको उल्लेख गर्नु भयो । उहाले महिलाहरु अब चुलो चौको मात्र नभइ आर्थिक क्षेत्रमा बलियो हुनुपर्ने बताउनु भएको छ ।

कार्यक्रममा बोल्दै भैरहवा नमुना माबिका बिद्यालय ब्यवस्थापन समिती अध्यक्ष आनन्द प्रसाद गुप्ताले सिनपा वडा नम्बर ५ ले शिक्षा, स्वास्थ्य लगायत सामाजिक क्षेत्रमा महत्वपुर्ण काम गर्र्र्दै आएको बताउनु भएको छ । उहाले सिनपा वडा नम्बर ५ ले संचालन गरेको ७ दिने सेनेटरी प्याड तालिममा सहभागीहरुलाई घरमा सिलाइ मेसिन नभएमा बिद्यालयमा आएर सिलाइ मेसिनको प्रयोग गरी सेनेटरी प्याड बनाउन सकिने बताउनु भएको छ।

यस्तै गरी प्रकृती फाउण्डेसनका अध्यक्ष प्रकृती उफ्रेतीले यो तालिम एकदमै प्रभावकारी भएको बताउनु भएको छ । उहाले यस्ता तालिमले सीप प्रदान गरेको बताउदै आफुले सिकेको सीप ब्यवहारमा उर्तान आग्रह गर्नु भएको छ । उहाले जिवनमा अति आवश्यक पर्ने सेनेटरी प्याड बनाउने तालिम हरेक वडाले राख्नुपर्ने सुझाव दिनु भएको छ । उहाले तालिममा सहभागी किशोरी तथा महिलाहरुले बनाएका सेनेटरी प्याडको बजारीकरणमा नगर र वडाले सहयोग गर्नुपर्ने जोड दिनु भएको छ । उहाले सिकेको सीप जति बाडयो त्यति नै बढने भएकोले आफनो सिपलाई निरन्तरता दिदै जानुपर्ने उल्लेख गर्नु भयो ।

कार्यक्रममा सिनपा वडा नम्बर ५ का वडासचिव बन्दना उपाध्यायको स्वागत मन्तब्य रहेको कार्यक्रममा समाजसेवी लेखनाथ भटटराई, तालिमको प्रशिक्षक सुर्यमती चौधरी , प्रशिक्षार्थी मन्जु पाण्डे लगायतले बोल्दै किशोरी तथा महिला लक्षित यो तालिम एकदमै राम्रो भएकोले सिकेका कुराहरुलाई सदुपयोग गर्न आग्रह गर्नु भएको थियो । तालिममा सहभागी २६ जना किशोरी तथा महिलाहरुलाई प्रमाणद्धारा सम्मान गरिएको थियो । कार्यक्रममा तालिम संयोजक तथा वडा नम्बर ५ का महिला वडा सदस्य सरस्वती श्रेष्ठले संचालन गर्नु भएको कार्यक्रममा वडानम्बर १३ का निबर्तमान वडासदस्य प्रकाश खडका , सिनपा वडा नम्बर ५ का बुथ सदस्य केशव प्रसाद गुप्ता, वडा सदस्य बिनित कुमार बेरिवाल, प्रशिक्षक सुर्यमती चौधरी, वडा नम्बर ५ को वडा सदस्य किरण देबी सुनार लगायत सरोकारवाला ब्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२४-०६-०२ , समय : ०९:२२:०८ , ३ हप्ता अगाडि