एजेन्सी , ३७ पटक हेरिएको
अमेरिका, भदौ २०
अमेरिकाको जर्जिया राज्यको एक विद्यालयमा गोली चल्दा चार जनाको ज्यान गएको छ । ९ जना घाइते भएका छन् । गोली चल्दा दुई शिक्षक र दुई विद्यार्थीको ज्यान गएको हो भने ८ विद्यार्थी र एक जना शिक्षक घाइते भएका हुन् । एटलान्टाको ८० किलोमिटर उत्तरपूर्वमा रहेको ब्यारो काउन्टीको अपलाची हाई स्कूलमा अन्धाधुन्द गोली चलेको बीबीसीले जनाएको छ ।
गोली चलाएको आरोपमा प्रहरीले १४ वर्षीय बालकलाई पक्राउ गरेको छ । उनी त्यही विद्यालयका विद्यार्थी रहेका प्रहरीले जनाएको छ । उनलाई वयस्कलाई जस्तै कारबाही गर्ने तयारी गरिएको प्रहरीको भनाइ छ । अमेरिकामा विद्यालयमा गोली चल्ने घटना पटक–पटक हुँदै आएको छ ।
यो वर्ष मात्र अमेरिकाको विद्यालयमा गोली चलेको यो ४५ औँ घटना भएको खबरमा उल्लेख छ । यसअघि सन् २०२३ मा ८२ वटा विद्यालयमा गोली चलेको थियो भने २०२२ मा ७९ र २०२१ मा ७३ विद्यालयमा गोली चलेका थिए ।
प्रकाशित मिति: २०२४-०९-०५ , समय : ०८:५०:३७ , १ महिना अगाडि