रुपन्देही खबर , ७१ पटक हेरिएको

सुनवल, बैशाख २९
नवलपरासीको सुनवल नगरपालिकाका नगर प्रमुख विमल अर्यालले पत्रकार तथा पत्रकारिता क्षेत्रलाई लक्षित गर्दै सार्वजनिक रूपमा अभद्र अभिव्यक्ति भन्दै नवलपरासीमा क्रियाशिल पत्रकार सम्बद्ध संघसंस्थाले आपत्ति जनाएका छन् । नेपाल पत्रकार महासंघ, नवलपरासी (ब.सु.प.), प्रेस युनियन र प्रेस सेन्टरले विज्ञप्ति मार्फत नगर प्रमुखको सार्वजनिक टिप्पणीको निन्दा गरेका हुन ।
प्रेस विज्ञप्ति जारी गर्दै महासंघले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रमुख अर्यालले दिएको अभिव्यक्ति पत्रकारिता पेशामाथिको गम्भीर हमला भएको जनाएको छ। विज्ञप्तिमा भनिएको छ, “नगर प्रमुखले सत्य, तथ्य र जनपक्षीय मुद्दा उठाउने पत्रकारमाथि गालीगलौज गर्नु प्रेस स्वतन्त्रताको विरोध हो।”
पत्रकार महासंघले नगरपालिकाको गाडी खरिदको विषय समाचारमा आएपछि जनस्तरबाट आलोचना भएको र त्यही आक्रोशमा नगर प्रमुखले पत्रकारहरूमाथि अमर्यादित भाषा प्रयोग गरेको आरोप लगाएको छ । यस्ता अभिव्यक्तिले प्रेस स्वतन्त्रता र सामाजिक उत्तरदायित्वलाई असर पुर्याउने भन्दै महासंघले प्रमुख अर्याललाई अभिव्यक्ति फिर्ता लिन र पत्रकारसँग माफी माग्न आग्रह गरेको छ।
यसैगरी प्रेस यूनियन र प्रेस सेन्टरले पनि नगर प्रमुखलाई आफ्नो अभिव्यक्ति सच्याउन र प्रेस स्वतन्त्रताको सम्मान गर्न आग्रह गरेका छन । केही समय अघि मेयर अर्यालले सामाजिक संजाल फेसबुकमा एउटा स्टाटस लेखिन । बैशाख १८ गते रातको ९:०४ मा पोस्ट्याइएको पोस्टमा अर्यालले उपियाँको खोज अनुसन्धानमा पिएचडि गरेका विद्वानको एउटा कथा उल्लेख गरेकी छन । उनले लेखेकी छन – “उपियाँको खोज अनुसन्धानमा पिएचडि गरेका विद्वानलाई गाईको बारेमा लेख लेख्न दिईएछ । उनले गाईको सबै बयान गरे अन्तिममा गाईको जिउमा रौं हुन्छ र यसमा उपिया भेटिन्छ भनेर लेख टुङ्ग्याएछन । अनि अर्को लेख बिरालो हुँदै कुकुर र अन्य जनावरको बारेमा लेख्ख दिदा उनले अन्तिममा यिनिहरुमा पनि रौं हुन्छ त्यसैले उपियाँ भेटिन्छ भनेर लेख टुङ्ग्याएछन । अत्ति भयो भनेर माछाको बारेमा लेख्न दिईएछ उनले माछाको प्रकारदेखि सबै कुराहरु लेखिसकेर अन्तिममा फेरी जोडेछन । यदि माछा जलचर प्राणी नभएर थलचर हुन्थ्यो भने यसको जिउमा पनि रौं पलाउथ्यो र रौ पलाएपछि उपिया अनिवार्य पर्थ्यो भनेर लेख टुङ्ग्याएछन । अत : अहिले हरेक प्रसङ्गमा केहीले घुमाई फिराई एउटै कुरा जोडेर आफ्नो विशेषता देखाईरहेछन ।”
उनको यो पोस्ट पत्रकार तिरै लक्षित हो भन्ने कुनै प्रमाण देखिदैन । तर एउटा कमेन्टमा भने उनले पत्रकारलाई इंकित गरेर ‘झोले’ भनेपछि पत्रकारहरु आक्रोशित भएका हुन् । उनले एउटा कमेन्टको रिप्लाईमा आफु निकट एक महिला पत्रकारको प्रतिरक्षा गर्दै लेखेकी छन् – “सत्यतथ्य विषय ल्याउने उत्कृष्ट पत्रकारलाई यत्रो आरोप, अरु सत्यतथ्य नबुझी लेख्ने झोलेहरुलाई कुनै प्रश्न छैन किन?”
यसरी उनले पत्रकारप्रति आक्रोश व्यक्त गरेपछि सामाजिक संजालमा बहस सिर्जना भएको छ । यस विषयमा नगर प्रमुख अर्यालको भनाई लिन खोज्दा उनको फोन उठेन ।
प्रकाशित मिति: २०२५-०५-१२ , समय : १३:४२:४८ , ४ घन्टा अगाडि