पश्चिम नवलपरासीको रामग्राममा प्याब्सनसंग मेयर छात्रवृत्ति कार्यक्रम

बोर्डिङ स्कुलमा गरिब तथा विपन्न परिवारका बालबालिकाले निशुल्क पढ्न पाउने

रुपन्देही खबर , १६६  पटक हेरिएको

परासी,जेठ ७

पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले प्याब्सनसंग मेयर छात्रवृत्ति कार्यक्रम संचालन गरेको छ । रामग्राम नगर क्षेत्रभित्र रहेका संस्थागत बिद्यालयहरुले आफनो सेवा क्षेत्रभित्रका जेहेन्दार, गरिब, बिपन्न, दलित, अपांग लगायत कक्षा ४ देखी ११ कक्षा सम्मका बिद्यार्थीहरुलाई बार्षिक रुपमा २ सय ५० जनाको दरले मेयर छात्रबृत्ति प्रदान गर्ने उदेश्यका साथ रामग्राम नगरपालिका र रामग्राम नगर प्याब्सन बिच आज सम्झौता भएको छ ।

रामग्राम नगरपालिकाको नगरप्रमुख धनपत यादवले सम्झौतामा हस्ताक्षर गर्दै नगरको शिक्षा क्षेत्रलाई बिशेष प्राथमिकतामा राखेको बताउनु भएको छ । उहाले शैक्षिक गुणस्तर कायम गर्नको निम्ती नगरभित्र रहेका सामुदायिक बिद्यालयहरुलाई भौतिक पूर्वाधार निर्माण गरी शिक्षा क्षेत्रलाई अब्बल बनाउन तर्फ अग्रसर रहेको जोड दिनु भयो। नगरप्रमुख यादवले नगर क्षेत्रका निजी विद्यालयहरूले वार्षिक रूपमा कक्षा ४ देखि ११ सम्मका विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था मिलाइएको जानकारी दिनु भएको छ ।

यस्तै गरी शिक्षा शाखा प्रमुख सुन्दर खनालले नगर प्रमुख यादवको बिशेष पहलमा निजी बिद्यालयको सहकार्यमा प्याब्सनसंग मेयर छात्रबृत्ति कार्यक्रम संचालन गरिएको बताउनु भयो । उहाले एउटा संस्थागत विद्यालयमा बढिमा १६ जना सम्म विद्यार्थी निशुल्क अध्यापन गराउनु पर्ने गरी मापदण्ड तय गरिएको बताउनुभयो ।

प्याब्सनका रामग्राम नगर अध्यक्ष बलिराम यादवले शिक्षामा सुधार ल्याउन र नगरको शिक्षा गुणस्तरीय बनाउनका लागी प्याब्सनले मेयरसंग छात्रवृत्ति कार्यक्रम संचालन गरेको बताउनु भएको छ । उहाले नगरले सुरु गरेको शैक्षिक सुधारको अभियानमा संस्थागत विद्यालयको उत्तरदायित्व अन्र्तगत स्थानीय सरकारलाई सहयोग गरेको बताउनुभयो । छात्रवृत्ति वितरणका नगर प्रमुख तथा प्याब्सन अध्यक्ष सहित ७ सदस्यीय कार्यदल समेत गठन गरिएको छ । नगरभित्रका २४ वटा संस्थागत विद्यालयमा निशुल्क विद्यार्थी अध्ययन गर्न पाउने गरी मेयर छात्रवृत्ति कार्यक्रम लागू गरिएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन (प्याब्सन) र नगरपालिकाबीच मेयर छात्रवृत्ति कार्यक्रममा हस्ताक्षर भई चालु शैक्षिक सत्रबाट कार्यक्रम सञ्चालनमा आएको छ

प्रकाशित मिति: २०२५-०५-२१ , समय : २१:२४:५६ , ३ हप्ता अगाडि