उर्मिला यादव यात्री , १५५ पटक हेरिएको

भैरहवा,जेठ १२
रुपन्देहीको रोहिणी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता दिगोपना गाउँपालिका घोषणा गरिएको छ । आज सोमबार एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादवले रोहिणीलाई पूर्ण खोप सुनिश्चितता दिगोपना गाउँपालिका घोषणा गर्नुभएको हो ।
राष्ट्रिय खोप निर्देशिका अनुसार सम्पूर्ण प्रक्रिया पूरा गरी जन्मेदेखि १५ महिना र १६ देखि ५९ महिना सम्मका सम्पूर्ण बालबालिकालाई पूर्ण खोप लगाएकोले सुनिश्चितता दिगोपना घोषणा गरिएको हो । पूर्ण खोप सुनिश्चितता दिगोपना गाउँपालिका घोषणा गरिए संगै जिल्ला खोप समन्वय समितिका संयोजक उमाकान्त चपाई र समितिका सदस्य सचिव चिन्तामणि ज्ञवालीले घोषणा प्रमाणपत्र गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवलाई प्रदान गर्नुभएको थियो ।
गाउपालिका अध्यक्ष बिद्या प्रसाद यादवको अध्यक्षता तथा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका संयोजक उमाकान्त चपाईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमलाई सम्बोधन गर्नु हुदै प्रमुख अतिथी चपाइले रोहिणीलाई पूर्ण खोप सुनिश्चितता दिगोपना गाउँपालिका घोषणा गरेर गाउबासीको स्वास्थ्यप्रति गाउपालिका जिम्मेवार बनेको बताउनु भएको छ । उहाले रोहिणी गाउपालिका रुपन्देहीको पाचौं पालिकाको रुपमा पूर्ण खोप सुनिश्चितता दिगोपना गाउँपालिका घोषणा गरिएको बताउनु भयो । उहाले रोहिणीले सरसफाई, शिक्षा, स्वास्थ्यमा दिएको प्राथमिकता अन्य पालिकाका लागि सिकाइ बनेको बताउँदै घोषणालाई दिगो बनाइनुपर्नेमा जोड दिनु भएको छ ।
यस्तै गरी गाउपालिका अध्यक्ष बिद्या प्रसाद यादवले रोहिणी गाउपालिकाले स्वास्थ्य र शिक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरेको बताउनु भएको छ । उहाले रोहिणीको बिकास र जनताको सेवाका लागी आफु दिनरात खटेको बताउदै गाउपालिकाको बिकासमा आफु सकरात्मक रहेको उल्लेख गर्नु भयो । उहाले रोहिणी गाउपालिकाको आन्तरिक आयस्रोत कम भएकोले सोचे जस्तो काम गर्न नसकिएको बताउदै जिल्ला समन्वय समितीको पहलमा अब छिटटै नै १५ शैंयाको अस्पताल बनाउने प्रतिबद्धता समेत गर्नु भएको छ । उहाले रातदिन खटेर सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाको सेवासुविधाको बिषयमा गाउँपालिका गम्भिर रहेको समेत बताउनुभएको छ ।
यस्तै गरी कार्यक्रममा बोल्दै गाउँपालिकाकी उपाध्यक्ष शिवकान्ती हरिजनले रोहिणी गाउपालिकाले शिक्षा संगै स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेको बताउनु भएको छ । उहाले स्वास्थ्य राम्रो भए मात्र अरु कुरा सोच्न सकिने भएकोले स्वस्थ रहनका लागी सरसफाई , खानपान लगायतमा बिशेष ध्यान दिन आग्रह समेत गर्नु भएको छ । उहाले रोहिणी गाउपालिका बासीहरुलाई आफनै पालिकामा सेवा दिने उदेश्य सहित १५ शैंयाको अस्पताल बन्न लागेको समेत जोड दिनु भयो । उहाले रोहिणीलाई पूर्ण खोप सुनिश्चितता दिगोपना गाउँपालिका घोषणाका लागि अहारोत्र खट्नुहुने स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई जति धन्यवाद दिए पनि कम हुने समेत बताउनु भएको छ ।
पजरकट्टी स्वास्थ्य चौकीका तथ्यांक फोकल पर्सन रमेश चौवेको स्वागत मन्तब्य रहेको कार्यक्रममा रोहिणी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामनेवास प्रसाद चौधरी, रोहिणी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवाली, स्वास्थ्य कार्यालय रुपन्देहीका निमित्त प्रमुख चिन्तामणि ज्ञवाली, पोखरभिण्डी स्वास्थ्य चौकी रोहिणी २ का इञ्चार्ज तारा प्रसाद गैरे ,छिपागढ माध्यमिक विद्यालयका प्रधानाध्यापक इन्द्र कुमार यादव, इन्द्रेणी ग्रामीण विकास सेवा केन्द्रका प्रतिनिधि सरस्वती थापा, महिला स्वास्थ्य स्वयंसेविका सरिता पाण्डे लगायतले शुभकामना मन्तब्य राख्दै खोप जस्तै कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित हुन नपर्ने गरी योजना बनाउन आग्रह गर्नु भएको थियो भने कार्यक्रम संचालन गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका नारायण ढुंगानाले गर्नु भएको थियो ।
कार्यक्रममा रोहिणी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता दिगोपना गाउँपालिका घोषणा गर्नमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयम सेबिका लगायतलाई प्रशंसा पत्रले सम्मान गरिएको थियो ।
प्रकाशित मिति: २०२५-०५-२६ , समय : २३:३२:१८ , १ हप्ता अगाडि