पश्चिम नवलपरासीको सुस्तामा पुनः प्रयोग गर्न मिल्नेगरी कपडा बैंक स्थापना

उर्मिला यादव यात्री , १४०  पटक हेरिएको

सुस्ता, जेठ १७
पश्चिम नवलपरासीको सुस्ता गाउपालिकामा कपडा बैंकको स्थापना गरिएको छ । सुस्ता गाउपालिकाको समन्वय तथा क्लोथ एण्ड फुड बैंक नेपालको आयोजनामा पुनः प्रयोग गर्न मिल्ने गरी शुक्रवार एक कार्यक्रमका बिच कपडा बैंकको स्थापना गरिएको हो ।

कपडा बैंकको उदघाटन गर्नु हुदै गाउपालिका अध्यक्ष टेक नारायण उपाध्यायले पुराना कपडालाई रिफाइन गरी पुनः प्रयोग गर्न मिल्नेगरी कपडा बैंंकको स्थापना गरिएको बताउनुभएको छ । जनताले अहिले भौतिक मात्र नभएर मानवीय विकासको खोजी गर्दै आएको बताउदै सुस्ता गाउपालिकाले भौतिक विकासमा मात्र नभएर मानवीय विकासको लागि बजेट खर्च गर्दैआएको जोड दिनु भयो ।

उहाले प्रयोगमा नआएका कपडा संकलन गरेर पुनःचक्रण गरी विपन्न तथा गरिब मानिस माझ पु¥याउने उद्देश्यका साथ अभियान सुरु गरिएको बताउनु भयो । ’गरिब तथा असहाय जसले कपडा किन्न सक्दैनन्, त्यस्ता मानिसलाई ‘रिसाइकल’ गरी कपडा उपलब्ध गराउनका लागि कामको थालनी गरेका छौँ,’ उहाले भन्नु भयो ।

यस्तैगरी गाउपालिकाका उपाध्यक्ष गीता चौधरीले सुस्ता गाउपालिकामा कोही पनि कपडा बिहिन नहोउन भनेर गाउपालिकामा कपडा सङ्कलन केन्द्रको स्थापना गरिएको बताउनु भयो । उहाले सुस्ताका नागरिकहरुलाई पुराना कपडा सङ्कलन गर्नमा सहयोग गर्न आग्रह समेत गर्नुभएको छ । उहाले नागरिकलाई मौलिक हक प्रदान गर्नु राज्यको प्रमुख भूमिका रहे पनि जनस्तरबाट पनि सहयोग गरिनुपर्ने बताउनुभयो । उपाध्यक्ष चौधरीले क्लोथ एन्ड फुड बैंकले गरेको कार्यको प्रशंसा गर्दै गाउपालिकाबाट सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

यस्तै गरी सुस्ता गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले प्रयोग नभएका कपडालाई रिसाइकलिङ गरी गुणस्तरीय कपडा उत्पादन गरी गरिब, दुःखी बिपन्न समुदाय लगायत समस्यामा परेका नागरिकलाई निःशुल्क कपडा बाँड्ने अभियानमा गाउपालिकाले सहयोग गर्ने प्रतिबद्धता गर्नु भएको छ । उहाले समाजका सक्षम ब्यक्तिहरुले आफुले प्रयोगमा नल्याएका पुराना कपडा, लगाउन नमिल्ने लगायतका कपडाहरु नफाली कपडा बैंकमा राख्न आग्रह गर्दै बिपन्न समुदायका नागरिकलाई मौलिक हक प्रदान गर्न सहयोग गर्नुपर्ने बताउनु भयो ।


यस्तै गरी क्लोथ एण्ड फुड बैंक नेपालका केन्द्रिय अध्यक्ष कमल जिसीले घरमा यत्तिकै रहिरहेका र प्रयोगमा नआएका पुराना कपडा, जुत्ता, चप्पल, झोला, कापी कलम, पुस्तक पुस्तिका , किताब सङ्कलन गर्ने र प्रशोधन गरेर आवश्यक ब्यक्तिलाई निःशुल्क रुपमा प्रदान गर्ने उद्देश्यले कपडा बैंकको स्थापना गरिएको बताउनु भएको छ । उहाले सबैले आफ्ना पुराना कपडाहरू कपडा बैंकमा जम्मा गरी पर्यावरणमा पर्ने नकरात्मक असरलाई समेत न्यूनीकरण गर्न सकिने बताउनु भयो ।

कार्यक्रममा जेसिआइ बर्दघाटका निवर्तमान अध्यक्ष युवराज चापागाइले शुभकामना मन्तब्य राख्नु भएको थियो भने कार्यक्रम संचालन दिनेश घिमिरेले गर्नु भएको थियो । क्लोथ एण्ड फुड बैंक नेपालका केन्द्रिय अध्यक्ष कमल जिसीको अध्यक्षता तथा सुस्ता गाउपालिका अध्यक्ष टेक नारायण उपाध्यायको प्रमुख आतिथ्यतामा कपडा बैंकको स्थापना गरिएको थियो ।

प्रकाशित मिति: २०२५-०५-३१ , समय : ११:०३:२७ , २ दिन अगाडि