रुपन्देही खबर , ९० पटक हेरिएको

परासी,जेठ २१
पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । गाउँपालिकाले चालु आ.ब.२०८१।०८२ को विकास निर्माण र सेवा प्रवाहवारे सार्वजनिक सुनुवाई सम्पन्न गरेको हो । गाउँपालिकाको वडा नं. ६ स्थित महेन्द्र जनता माध्यमिक विद्यालय गडौरीमा शनिवार सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो ।
गाउँपालिकाका अध्यक्ष सुखाडिप्रसाद चौधरीको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा दर्जन वढी नागरिकहरूले जनप्रतिनिधिहरूलाई प्रश्नहरू राखेका छन् । उनीहरूले पालिकाले सम्पन्न गरेका विकास निर्माण काम र सेवा प्रवाहलाई लक्षित गर्दै प्रश्नहरू राखेका हुन् । विकास निर्माण तर्फ बाटोघाटो, पुलपुलेसा र पालिकाका गौरवका आयोजनाहरूबारे प्रश्न राखेका छन् । पालिकाको प्रशासनीक भवन, अस्पताल भवन, खानेपानी र सरसफाई तथा पालिकाका भित्रका गौरवका आयोजनाको अवस्था बारे उनीहरुले प्रश्न राखेका छन् ।
नागरिकहरूले शिक्षाको गुणस्तर बृद्धि, न्यायिक समितिको प्रभावकारीता, युवा स्वरोजगारका लागि सीपमूलक तालिम, सिंचाई तथा कृषि मोटरको व्यवस्था गर्नु पर्ने जस्ता दर्जनौ प्रश्नहरू राखेका थिए । स्थानीय दिवाकर यादवले सरावलमा कृषि क्षेत्रको विकासका लागि पालिकाले कृषि क्षेत्रलाई प्राथमिकता दिनु पर्ने भन्दै घान—गहुँको विउ उत्पादनको व्यवस्था गर्नुपर्ने बताउनु भयो ।
यस्तै पालिकाको सेवा प्रवाह तर्फ जोडदिंदै नागरिकहरूले पालिकाले मसलन्दमा खर्च गर्ने शीर्षक बढी भएको, कर्मचारीहरूको भ्रमण कम गर्नु पर्ने, एक घर एक रोजगारको व्यवस्था हुनु पर्ने जस्ता माग राखेका छन् । सरावल गाउँपालिका वडा नं.५ का शैलेश चौधरीले वडा वा पालिकाले नागरिक मैत्री सेवाप्रवाह गर्न सुझाव दिंदै फोटाकपीको व्यवस्था पालिकाबाटै गर्नु पर्ने बताउनु भयो । यस्तै कार्यक्रममा सरावल ६ गडौरीकी स्थानीय विन्दु हरिजनले दलित महिलाहरूले सञ्चालन गरेको सहकारीकालागि कम्प्यूटर माग गर्नुभयो । यस्तै सार्वजनिक सुनुवाईमा दिवाकर यादव, रामचन्द्र राजभर, सविहुल्लाह अन्सारी, राजेशकुमार उपाध्याय, जयराम कहाँर, प्रदिपकुमार तिवारी, हरेन्द्रकुमार यादव, लक्ष्मि चौधरी, पारसनाथ गुप्ता, रामानन्द अहिर, चन्द्रकुमार गुप्ता र अनिलकुमार गौडले प्रश्न राख्नु भएको हो ।
सो क्रममा गाउँपालिकाका अध्यक्ष सुखाडिप्रसाद चौधरी, उपाध्यक्ष बासमति हरिजन, प्रमुख प्रशासकीय अधिकृत विशाल मिश्रा, वडा नं. ५ का अध्यक्ष लक्ष्मण चौधरी, वडा नं. ६ का अध्यक्ष छोटेलाल गुप्ता र वडा नं. ७ का अध्यक्ष ह्यात खाँ धुनियाले नागरिकबाट आएका प्रश्नहरूको जवाफ दिनु भएको हो ।
त्यसअघि सरावल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिश्राले चालु आ.ब २०८१।०८२ को बैशाख मसान्तसम्म भए गरेका कामहरूको बारेमा प्रकाश पार्नु भएको थियो । उहाँका अनुसार गाउँपालिकाले हालसम्म भौतिक प्रगति ७० प्रतिशत पूरा गर्दा ५५.३८ प्रतिशत खर्च गरेको हो ।
सार्वजनिक सुनुवाई कार्यक्रमको सहजिकरण सामुदायिक रेडियो परासी ९०.२ मेगाहर्जका प्रवन्ध निर्देशक मेघराज गौतमले गर्नु भएको थियो ।
प्रकाशित मिति: २०२५-०६-०४ , समय : ०८:४६:५६ , २ दिन अगाडि