रुपन्देही खबर , १४४ पटक हेरिएको

भैरहवा, असार ६
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ ले वृद्धाश्रममा खाद्यान्न सामग्री वितरण गरेको छ । सिनपा वडा नम्बर ५ का वडाध्यक्ष पुरन प्रसाद श्रेष्ठको अध्यक्षता तथा समाजसेवी नारायण प्रसाद अग्रवालको प्रमुख आतिथ्यतामा बिहीबार एक कार्यक्रमकाबीच ओमसतिया गाउँपालिका ४ बालापुरस्थित श्री सत्य साई वृद्ध सेवा आश्रममा सामग्री वितरण गरेको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि समाजसेवी अग्रवालले मानव सेवा नै धर्म भएको बताउनुभएको छ । उहाँले वडा नम्बर ५ को कार्यालयले पुनित कार्य गरेको बताउनुभयो ।
यस्तै गरि सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठले गत वर्ष सिद्धार्थ बाल गृहमा र यस वर्ष वृद्धाश्रममा खाद्यान्न वितरण गरिएको जानकारी दिनुभएको छ । उहाँले आफ्नो आमाबुवाको सेवा गर्नु छोराछोरीको दायित्व भएको बताउदै वडाअध्यक्ष श्रेष्ठले वडा कार्यालयले ज्येष्ठ नागरिक, एकल महिला तथा अपांगता भएका व्यक्तिहरुका लागि प्रत्येक वर्ष धार्मिक यात्रा, पोषण सामग्री वितरण र स्वास्थ्य चेकजाँच कार्यक्रम गर्दै आएको बताउनुभएको छ ।
श्री सत्य साई वृद्ध सेवा आश्रमका अध्यक्ष माया खरेलले आगामी दिनमा पनि वृद्धाश्रमले सहयोगको अपेक्षा राखेको बताउनुभयो । उद्योगी तथा समाजसेवी ऋषिकेश अग्रवालले वडा कार्यालयले गरेको कार्यक्रम सराहनीय रहेको भन्दै सेवाको भावनाको साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
वडा सदस्य सरस्वती श्रेष्ठको स्वागत मन्तव्य रहेको कार्यक्रम संचालन वडा सदस्य विनित बेरिवालले गर्नु भएको थियो ।
प्रकाशित मिति: २०२५-०६-२० , समय : ०५:५२:१४ , १ हप्ता अगाडि