मंसिर ४ गते हुने प्रदेश तथा संघीय निर्वाचनमा खटिन नेकपा एसका केन्द्रीय सचिव विश्वासीद्वारा कार्यकर्तालाई आग्रह

रुपन्देही खबर , २२६  पटक हेरिएको

बुटवल, २९ साउन

नेकपा एसका केन्द्रीय सचिव भागवत विश्वासीले आगामी मंसिर ४ गते हुने प्रदेश तथा संघीय निर्वाचनमा खटिन कार्यकर्तालाई आग्रह गरेका छन् । उनले दक्षिणपन्थी अवसरवादको दलदलमा फसेका कारण एमालेबाट विद्रोह गरेको उल्लेख गर्दै प्रतिगमनविरुद्ध काँग्रेससहितको शक्तिसँग गठबन्धन गर्नुपरेको बताउनु भएको छ ।

 

नेकपा एकीकृत समाजवादी रुपन्देहीको चौथौ पूूर्ण बैठकलाई आईतबार सम्बोधन गर्दै लुम्बिनी प्रदेशका सह–इन्चार्ज समेत रहनु भएको विश्वासीले केपी ओलीमा अझै पनि प्रतिगमनकारी सोच र व्यवहार देखिएकाले एमालेसँग कुुनै प्रकारको तालमेल हुन नसक्ने बताउनु भएको छ ।

उहाले संविधान, गणतन्त्रको रक्षाका लागि गठबन्धन गरेर जानुुपरेको बताउँदै आफूहरुको उपस्थिती विद्रोहको औचित्य पुष्टि हुने गरी आउने दावीसमेत गर्नु भएको छ । बैठकमा पार्टीका पोलिटव्यूूरो सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष सोमप्रसाद पाण्डेले मंसिर ४ पछि आफूहरुको उपस्थिती बलियो हुने बताउनु भएको छ । उहाले निर्वाचनलाई केन्द्रमा राखेर पार्टी संगठन तल्लोतहसम्म विस्तार गर्न निर्देशन दिनु भएको छ ।

 

पाण्डेले गठबन्धन हुँदा लुम्बिनीमा आफूहरुको उपस्थिती सम्मानजनक हुने बताउनु भएको छ । बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज डा. बालकृष्ण चापागाई, अर्का केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश सचिव राजु गुरुङले बोल्दै अब नेकपा एकीकृत समाजवादीले जनतालाई उत्साह जगाउँदै निर्वाचनमा होमिने बताउनु भयो ।

 

बैठकले प्रदेश र संघको निर्वाचनलाई केन्द्रीत गरी एक महिने संगठन बिस्तार अभियान सञ्चालन गर्ने निर्णय गरेको पार्टीका रुपन्देही जिल्ला अध्यक्ष अविराम विश्वकर्माले बताउनु भएको छ । भदौसम्म तल्लो तहसम्म संगठन विस्तार, पार्टीमा आबद्ध हुन चाहनेहरुलाई प्रवेश गराउनेदेखि संगठन चुस्त बनाउने निर्णय भएको सचिव सरिता श्रीसले बताउनु भयो ।

 

पार्टीका जिल्ला अध्यक्ष अविराम विश्वकर्माको अध्यक्षता, सचिव सरिता श्रीसको सञ्चालनमा भएको बैठकमा उपाध्यक्ष चिनबहादुर गुरुङ, अर्का उपाध्यक्ष श्रीराम यादव र उपसचिव टंक पोखरेल बोल्नु भएको थियो । बैठकमा पार्टीका केन्द्रीय सदस्यहरु सिद्धिचरण भट्टराई, रमा घर्ती, उमा काफ्ने, सल्लाहकार आदित्यनारायण कसौधन लगायतका नेताहरुको उपस्थिती रहेको थियो

 

प्रकाशित मिति: २०२२-०८-१४ , समय : २०:०३:५७ , २ वर्ष अगाडि