ट्रम्पलाई नाेबेल शान्ति पुरस्कार दिने समय आयाे, ६ वटा युद्ध राेकिसके : ह्वाइट हाउस

एजेन्सी , ९१  पटक हेरिएको

अमेरिका,साउन १६

ह्वाइट हाउसले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कार दिने समय आएको दाबी गरेको छ । ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले राष्ट्रपति ट्रम्पले इजरायल–इरान र भारत–पाकिस्तानबीचको सहित ६ वटा युद्ध रोकेको दाबी गर्दै नोबेल शान्ति पुरस्कार दिने समय आएको बताउनुभएको बीबीसीले जनाएको छ ।

पत्रकार सम्मेलनमा ह्वाइट हाउसकी प्रेस सचिव लेभिटले ट्रम्पले थाइल्यान्ड र कम्बोडिया, रुवान्डा र कङ्गो गणराज्य, सर्बिया र कोसोभो, इजिप्ट र इथियोपियाबीचको युद्ध पनि रोकेको दाबी गर्नुभयो । यसको अर्थ राष्ट्रपति ट्रम्पले आफ्नो ६ महिनाको कार्यकालमा औसतमा महिनामा एउटा शान्ति सम्झौता वा युद्धविरामको मध्यस्थता गर्नुभएको लेभिटले बताउनुभयो ।

यद्यपि भारत र पाकिस्तानबीचको युद्ध रोकेको ट्रम्पको दाबीलाई भारतले यसअघि नै खण्डन गरिसकेको छ । पाकिस्तानले भने ट्रम्पले नै युद्ध रोकेको बताउँदै आएको छ । यसअघि पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफ र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले पनि राष्ट्रपति ट्रम्पलाई नोबेल शान्ति पुरस्कार दिन सिफारिश गर्नुभएको थियो ।

प्रकाशित मिति: २०२५-०८-०१ , समय : १९:५८:१० , १८ घन्टा अगाडि