लुम्बिनी साँस्कृतिकमा शैक्षिक उन्नयनका लागि प्रधानाध्यापक र पालिकाबीच कार्यसम्पादन सम्झौता

रुपन्देही खबर , ७४  पटक हेरिएको

भैरहवा, साउन २१

रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाले शैक्षिक गुणस्तर कायम गर्न विशेष रणनीतिका साथ अघि बढेको जनाएको छ । विद्यालयको समग्र व्यवस्थापन तथा शैक्षिक उपलब्धी सुधारका लागी पालिकाभित्र रहेका सामूदायिक विद्यालयका प्रधानाध्यापक र नगरपालिकाबीच मंगलबार कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गरिएको समन्वय शाखा प्रमुख तुल्सीराम लामिछानेले जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०८२/०८३ मा नगरपालिकाले राखेका शैक्षिक शर्तहरु पूरा गरी नतिजा सकारात्मक ल्याउन विभिन्न कार्य विवरण उपलब्ध गराई जिम्मेवारी प्रदान गरिएको छ । करार सम्झौताको कार्य विवरण, वार्षिक लक्ष्य, मापन गर्ने आधारबारे योजना निर्माण सम्बन्धी, शैक्षिक गुणस्तर वृद्धि सम्बन्धी, व्यवस्थापकिय क्षेत्र, निरीक्षण, अनुगमन तथा सुपरीवेक्षण लगायत विषय कार्यसम्पादन करारमा उल्लेख गरिएको नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख तथा उपसचिव हरि प्रसाद ज्ञवालीले बताउनुभयो । शैक्षिक गुणस्तर सुधार गरी मेधावी विद्यार्थीहरु उत्पादन गर्न नगरपालिका दत्तचित्त भएर लाग्ने नगरप्रमुख (मेयर) सजरुद्दीन मुसलमानले बताउनुभयो । शिक्षा नीतिअनुरुप हरेक विद्यालय नियमित रुपमा सञ्चालन हुनुपर्ने अडान गर्दै तोकिएको जिम्मेवारी शिक्षकहरुले पूर्ण रुपमा पालना गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो । मेयर मुसलमानले विद्यार्थी भविष्यका कर्णधार भएकाले उनीहरुको भविष्यमाथि खेलवाड गर्न कसैलाई छुट नभएको भन्दै शैक्षिक क्षेत्रको विकासमा नगरपालिका सदैव अग्रभागमा रहेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यसम्पादन करार केवल पानामा मात्र नभइ पूर्ण रुपमा कार्यान्वयन गरी नतिजा सोचेअनुरुप ल्याउन समेत आग्रह गर्नुभयो ।

नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवालीले करारमा उल्लेख गरिएका शैक्षिक शर्तहरुलाई कार्यान्वयन गरी उत्कृष्ट नतिजा ल्याउन अपील गर्नुभयो । उहाँले शैक्षिक पठनपाठनसँगै विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापहरुमा समेत सहभागीता गराउन प्रधानाध्यापकहरुलाई आग्रह गर्नुभयो । प्रस्ताव र विभिन्न विषयमा शिक्षा अधिकृत लक्ष्मी पराजुलीले सहजीकरण गरेका गर्नुभएको थियो । साथै कक्षा ८, १० र १२ को नतिजाको समीक्षा समेत गरिएको हो । बैठक तथा अन्तक्रिया कार्यक्रमको सहजीकरण सहायक शिक्षा अधिकृत प्रमिला पछाई रायमाझीले गर्नुभएको थियो ।

प्रकाशित मिति: २०२५-०८-०६ , समय : ११:३१:५७ , ३ घन्टा अगाडि