सन् २०३६ अघि शुक्र ग्रह भ्रमण गर्ने रुसको योजना

एजेन्सी , ४८  पटक हेरिएको

रुस, भदौ १

रुसले आफ्नो भेनेरा–डी अन्तरग्रहीय मिसनमार्फत सन् २०३६ भन्दा अघि शुक्र ग्रहलाई पुनः भ्रमण गर्ने योजना बनाएको छ । यसका लागि तयारी कार्यहरू शुरू भइसकेको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

यो परियोजना रुसको नयाँ राष्ट्रिय अन्तरिक्ष कार्यक्रमको हिस्सा हो । स्पेस रिसर्च इन्स्टिच्युट (आईकेआई) का ग्रह भौतिक विज्ञान विभाग प्रमुख ओलेग कोराबलेभका अनुसार प्रारम्भिक डिजाइन कार्य सन् २०२६ जनवरीदेखि शुरू हुनेछ ।

मस्यौदा डिजाइन चरण पूरा गर्न झन्डै दुई वर्ष लाग्ने अनुमान छ । यस अवधिमा विभिन्न समन्वय बैठकहरू हुने र लाभोच्किन एसोसिएशनसहित रुसी अन्तरिक्ष उद्योगका अन्य संस्थासँग सहकार्य गरेर प्रगतिलाई अघि बढाइने प्रमुख कोराबलेभले बताउनुभएको खबरमा उल्लेख छ ।

उहाँका अनुसार डिजाइन चरण सकिएपछि प्रक्षेपणको मिति निर्धारण गरिनेछ । भेनेरा–डी मिसनमा ल्यान्डर, बेलुन प्रोब र कक्षीय अन्तरिक्ष यान रहनेछ ।

प्रकाशित मिति: २०२५-०८-१७ , समय : २१:२५:४३ , २ घन्टा अगाडि