गाजाको शान्ति योजनामा ट्रम्प र नेतान्याहूबीच सहमती

एजेन्सी , १००  पटक हेरिएको

एजेन्सी

असोज १४

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजामा शान्ति कायम गर्ने नयाँ योजनामा सहमति जनाएका छन् । ट्रम्पको कार्यालय ह्वाइटहाउसमा भएको दुई नेताबीचको भेटवार्तामा नयाँ योजनामा सहमती भएको बीबीसीले जनाएको छ । उनीहरुले यो योजनालाई स्वीकार गर्न हमासलाई दबाब दिएका छन् ।

नयाँ योजनामा सैन्य कारबाही तत्काल समाप्त गर्ने प्रस्ताव छ । प्रस्ताव अनुसार हमासले बन्धक बनाएका जिवित २० जनालाई रिहा गर्नुका साथै ज्यान गुमाएका बन्धकहरुको शव तथा अवशेष ७२ घण्टाभित्र उपलब्ध गराउनुपर्नेछ । त्यसपछि इजरायलले हिरासतमा रहेका सयौँ गाजावासीलाई रिहा गर्नेछ । अमेरिकाले हमासका अधिकारीलाई २० बुँदे प्रस्ताव हस्तान्तरण गरेको छ । प्रस्तावमा गाजाको शासनमा हमासको कुनै भूमिका नहुने उल्लेख छ र प्यालेस्टाइनी राज्यको विकल्पका निम्ति ढोका खुला राखिएको छ ।

ह्वाइट हाउसमा भएको पत्रकार सम्मेलनमा ट्रम्पले यो योजना शान्तिका निम्ति ऐतिहासिक कदम भएको बताउनुभएको बीबीसीले जनाएको छ । उहाँले हमासले यो योजना स्वीकार नगरे नेतान्याहूले जे गर्ने निर्णय गरे पनि अमेरिकाले समर्थन गर्ने बताउनुभएको छ । इजरायली प्रधानमन्त्री नेतान्याहूले पनि योजना अस्वीकार गरिए इजरायलले आवश्यक कदम चाल्ने चेतावनी दिनुभएको छ ।

प्रकाशित मिति: २०२५-०९-३० , समय : ०८:५२:१९ , २ हप्ता अगाडि