इस्लामाबादको मस्जिदमा विस्फोट, ३१ जनाको मृत्यु, १६० भन्दा बढी घाइते

एजेन्सी , ७४  पटक हेरिएको

तस्वीर : एजेन्सी

माघ २३

पाकिस्तानको राजधानी इस्लामाबादमा भएको शक्तिशाली विस्फोटमा कम्तीमा ३१ जनाको ज्यान गएको छ भने १ सय ६० जनाभन्दा बढी घाइते भएका छन् । बीबीसीका अनुसार प्रार्थनाको समयमा एक मस्जिदभित्र भएको विस्फोटले ठूलो मानवीय क्षति भएको हो । जिल्ला प्रशासनका प्रवक्ताका अनुसार विस्फोटपछि शहरका तीन वटा अस्पतालमा आपत्काल घोषणा गरिएको छ । घाइतेहरूको उपचार प्रभावकारी बनाउन विभिन्न अस्पतालहरूमा सहायक आयुक्तहरू खटाइएको जनाइएको छ ।

गृहमन्त्री मोहसिन नक्वीको निर्देशनमा गृह राज्यमन्त्री तलाल चौधरी इस्लामाबादस्थित पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (पिम्स) अस्पताल पुगेर घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।

पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरिफले घटनाको कडा निन्दा गर्दै विस्फोटमा ज्यान गुमाएकाप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले पीडित परिवारप्रति गहिरो समवेदना व्यक्त गर्नुका साथै घाइतेहरूको शीघ्र उपचारको व्यवस्था गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।

यसअघि पनि गत नोभेम्बर ११ मा इस्लामाबादमा भएको आत्मघाती विस्फोटमा १२ जनाको मृत्यु भएको थियो भने २७ जना घाइते भएका थिए । लगातार भइरहेका यस्ता घटनाले राजधानीको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ ।

प्रकाशित मिति: २०२६-०२-०६ , समय : २०:५६:४९ , २ घन्टा अगाडि