रुपन्देही खबर , २६० पटक हेरिएको
बुटवल, भदौ १६
नेकपा एकीकृत समाजवादीले रुपन्देहीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र न. २ मा विष्णु पौडेलसँगै भिड्ने बटमलाईन बनाउने निर्णय गरेको छ । नेकपा एकीकृत समाजवादी रुपन्देहीको विहिबार बसेको जिल्ला सचिवालय बैठकले गठबन्धनमा प्रतिनिधिसभा तर्फ २ नम्बर क्षेत्र दाबी गर्ने निर्णय गरेको हो । बेठकले प्रदेशसभा तर्फ ३ वटा निर्वाचन क्षेत्र दावी गरेर अगाडि बढ्ने पनि निर्णय गरेको छ ।
केन्द्रीय राजनीतिमा भएको सहमतीलाई रुपन्देहीमा पूर्ण रुपमा कार्यान्वयन गर्ने समेत सचिवालय बैठकले निर्णय गरेको जिल्ला अध्यक्ष अविराम विश्वकर्माले जानकारी दिनु भएको छ ।
बैठकले निर्वाचनमा गठबन्धनका उम्मेद्वारलाई जिताउने गरि लाग्ने र आवश्यक परे एक्लै पनि निर्वाचन लड्न सक्ने गरि निर्वाचनको तयारीमा जुटन कार्यकर्तालाई निर्देशन दिएको छ । यसअघि रुपन्देहीका प्रतिनिधिसभाका ५ र प्रदेशसभा तर्फका १० वटा निर्वाचन क्षेत्रमा नामहरु सिफारिश गरिसकेको छ ।
रुपन्देही निर्वाचन क्षेत्र न. २ मा पार्टीका केन्द्रीय सदस्य एंवम रुपन्देही इन्चार्ज राजु गुरुङलाई एकल सिफारिस गरिसकेको छ । एमाले विभाजन भए लगत्तै गुरुङले आगामी निर्वाचनमा पौडेलसंग भिड्ने घोषणा गर्नु भएको थियो ।
बैठकमा बोल्दै केन्द्रीय सदस्य गुरुङले आफुहरुले स्वभाविक दावी गरेको बताउँदै गठबन्धनबाट आफू नै उम्मेद्वार हुने बताउनु भएको छ । उहाले आफूहरुले मात्रै बुटवलबासी र रुपन्देहीका जनताको भावनाको सम्बोधन गर्न सक्ने भन्दै निर्वाचनमा खटिन समेत कार्यकर्तालाई आग्रह गर्नु भएको छ ।
संविधान, लोकतन्त्र र गणतन्त्र माथी अझै खतरा देखिएकाले गठबन्धनबाट आफूहरु चुनावी मैदानमा आउन लागेको बताउँदै काँग्रेस इमान्दार नभए एक्लै पनि चुनाव लड्न तागत एकीकृत समाजवादीले राख्ने जिकिर गर्नु भयो ।
बैठकमा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य सिद्धिचरण भट्टराईले मंसिर ४ को चुनाव परिवर्तनकारी र संविधान मास्नेका विरुद्धमा भएको बताउनु भएको छ । त्यस्तै बैठकमा पार्टीका केन्द्रीय सदस्य उमा काफ्ले, अर्का केन्द्रीय सदस्य भगवती घिमिरे, प्रदेश कमिटिका पदाधिकारी र सदस्य तथा जिल्लाका पदाधिकारीहरुको सहभागिता रहेको जिल्ला सचिव सरिता श्रीसले जानकारी दिनु भएको छ ।
श्रोत : खबरकुरा
प्रकाशित मिति: २०२२-०९-०१ , समय : २०:०९:५७ , २ वर्ष अगाडि